सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलनमा जान्छौं : धर्मेन्द्र बास्तोला

सफल खबर संवाददाता

आइतबार, १२ भदौ २०७९, १५ : २६
सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलनमा जान्छौं : धर्मेन्द्र बास्तोला

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलनमा जाने बताएको छ । आइतबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी उनले सरकार तीन बुँदे सहमतिबाट पछाडि हटेको आरोप समेत लगाए ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले तत्कालिन नेकपा र सरकारबीच भएको सहमतिप्रति सरकार गैरजिम्मेवार भएको पेश भएको बताए । उनले सरकारले सहमति कार्यान्वयन गर्नेभन्दा षड्यन्त्रमा लागेको बताउँदै सडक संघर्षमा जाने चेतावनी दिए । “हामीसहित तत्कालिन नेकपा र ओली नेतृत्वको सरकारबीच भएको सहमतिबाट देउवा नेतृत्वको वर्तमान सरकार पछि हटेको छ । यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सरकार सहमतिबाट पछि हट्न स्वतन्त्र छ भने हामी पनि संघर्षमा जान स्वतन्त्र छौं” संयोजक बास्तोलाले भने ।

संयोजक बास्तोलाले सहमतिबाट पछि हटेर सरकारले ३२२ मुद्धा फिर्ता लिन नसकिने बताएको उल्लेख गरे। उनले भने, “सरकारले सहमतिबाट पछि हटेर ३२२ मुद्धा फिर्ता लिन नसकिने बताएको छ । यो भनेको गम्भीर कुरा हो । यसले समस्या समाधान होइन थप जटिलता ल्याउछ ।” बास्तोलाले सरकारलाई सहमति कार्यान्वयन गरी बन्दीलाई तत्काल रिहा गर्न आग्रह समेत गरे ।

एक अर्को प्रसंगमा संयोजक बास्तोलाले प्रदेश र संघको चुनाव आफ्नो पार्टीले बहिस्कार गर्ने बताए । अहिलेको व्यवस्थामा हुने चुनावले जनताका समस्या समाधान नगर्ने बताउँदै आफ्नो पार्टी सहभागी नहुने बताउँदै बास्तोलाले भने, “यो व्यवस्था नै जनता विरोधी छ । यो दलाल संसदीय व्यवस्था रहेसम्म हुने चुनावको नतिजा पनि दलालकै पक्षमा हुन्छ, यसबाट जनताले केही पाउँदैनन् ।” उनले यो व्यवस्थामा हुने चुनावमा जनताका प्रतिनिधि नभएर दलालकै प्रतिनिधिहरुले जित्ने बताए ।

नेकपा (बहुमत) ले नागरिकता विधेयक खारेज गर्न माग समेत गरेको छ । संयोजक बास्तोलाले भारतीयलाई नागरिकता दिन नागरिकता विधेयक ल्याएको बताउँदै खारेज गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस