बालेनले डोजर आतंक मच्चाए काठमाडौँ बस्नलायक रहँदैनः महेश बस्नेत

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, १९ : ३२
बालेनले डोजर आतंक मच्चाए काठमाडौँ बस्नलायक रहँदैनः महेश बस्नेत

काठमाडौँ  । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौँका मेयर बालेन शाहले नक्सा पास नभएका संरचनाहरुमा डोजर आतंक मच्चाए उपत्यका बस्नलायकको नरहने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन्। उनले डोजर आतंक मच्चाइरहने हो भने काठमाडौँबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्नसक्ने र ध्वंसको क्षेत्र बन्ने निश्चित रहेको दाबी गरे।

केही मानिसले साथ दिए भन्दै कानुन मिचेर जनतालाई दुःख दिने काम नगर्न पनि उनले मेयर शाहलाई चेतावनी दिए। उनले आफ्नो निर्वाचन क्षेत्रमा ध्वंसात्मक गतिविधि नगरी निर्माण गरेरै सुन्दर बस्ती बनाएको दाबी गरे। उनले निर्माणबाट नै सुन्दरता ल्याउन सकिन्छ भन्नेकुरा हेर्नका लागि आफ्नो निर्वाचन क्षेत्रमा जान काठमाडौँ महानगरपालिकाका मेयर साहलाई आग्रह दिरे।

उनले भने, ‘नक्सा पास नभएका घरहरु, संरचनाहरुलाई डोजर लगाएर ठोक भनेर काठमाडौँभित्रका १८ जना मेयरले १८ वटा डोजर लिएर हिँडे भने उपत्यका बस्न लायकको रहँदैन। बस्न नालायक ठाउँ हुन्छ। भागेर जानुपर्छ, निर्माणको होइन, ध्वंसको क्षेत्र बन्छ। मिडियाका चार हजार साथी लिएर प्रोत्साहन दिए भन्दैमा विधि कानुन मिचेर, सिस्टमलाई फलो नगरी क्षतिपूर्ति नदिकन जनतालाई दुःख दिने काम नगरौँ। मैले मेरो जिल्ला, मेरो क्षेत्र नमुना बनाएको छु, ध्वंस होइन, निर्माण गरेर बनाउन सकिन्छ भन्ने कुरा भक्तपुरमा गएर हेर्नुहोस्।’

नेता बस्नेतले संविधानमा दुई पटकभन्दा बढी प्रधानमन्त्री वा सांसद हुन नपाउने गरी व्यवस्था गर्न माग गरे। उनले प्रत्यक्ष निर्वाचित सांसद र मन्त्रीहरु कति पटक हुने भन्ने नीति नै निर्माण गरेर जान आह्वान गरे। नेता बस्नेतले समानुपातिकतर्फ अनिश्चितकालसम्म अवसर दिने कुरा राम्रो नभएको जिकिर गरे।