रुपन्देही लगानीको गन्तव्य बनेको छ : विष्णु पौडेल

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, १४ : २९
रुपन्देही लगानीको गन्तव्य बनेको छ : विष्णु पौडेल

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले पूर्वाधार विकासका हिसाबले रुपन्देही लगानीको गन्तव्य बन्दै गएको बताएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन समारोहमा बोल्दै पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल-बेलहिया ६ लेन सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, तिनाउ-दानब कोरिडोर, मोतीपूर औद्योगिक क्षेत्रलगायतका पूर्वाधारले रुपन्देही देशभरका लगानीकर्ताको आकर्षक गन्तव्य बन्दै गएको बताए ।

बुटवल- नारायणगढ र बुटवल-चन्द्रौटा ६ लेन सडक तथा सिद्धबाबामा सुरुङमार्ग निर्माणको क्रममा रहेकाले कनेक्टिभिटीका हिसाबले पर्याप्त पूर्वाधारकै कारण जिल्लामा उद्योग र तारे स्तरका होटेलहरु समेत खुल्ने क्रममा रहेका उनले बताए ।

रुपन्देहीका जनप्रतिनिधिले जिल्लालाई विकासको रोलमोडेल बनाएको भन्दै पौडेलले विकास हेर्न र सिक्न रुपन्देही आउनुपर्ने बताए । पौडेलले लुम्बिनी गुरुयोजना पूरा गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण समेत गराए । उनले सम्मेलन केन्द्र सञ्चालनको मोडालिटीमा ध्यान दिन सरोकारवालालाई आग्रह गरे ।

सम्मेलन केन्द्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा योजना छनौट, गुरुयोजना र डीपीआर निर्माण, बजेट विनियोजन, बहुवर्षीय ठेक्काको लागि सहमति लगायतका काममा रुपन्देहीको जनप्रतिनिधिका रुपमा आफूले अगुवाई गरेको पौडेलले बताए ।

सम्मेलन केन्द्रसँगै बुटवल मण्डपभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल पनि सम्पन्न हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन, औद्योगिक ब्यापार मेला, प्रदर्शनी, बैठक र कार्यक्रमहरु आयोजना भई रुपन्देहीको आर्थिक विकासमा थप मद्दत पुग्ने पौडेलले विश्वास व्यक्त गरे ।

आम निर्वाचनको मिति घोषणा भइसकेकाले काम चलाउ सरकारबाट धेरैगर्न नसकिने नेता पौडेलले टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस