किन चौतर्फी संकटमा पर्दैछन् दिल्लीका मुख्यमन्त्री केजरीवाल ?

एजेन्सी

शुक्रबार, १० भदौ २०७९, ०८ : ०२
किन चौतर्फी संकटमा पर्दैछन् दिल्लीका मुख्यमन्त्री केजरीवाल ?

एजेन्सी । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल यतिबेला चौतर्फी संकटमा परेका छन् । केजरीवालका उपमुख्यमन्त्री मनीष सिसोदियाविरुद्ध रक्सी घोटालामा सीबीआईले छानबिन गरिरहेको छ भने आम आदमी पार्टी (आप) विभाजन गर्न प्रयास भइरहेको चर्चा पनि छ ।

यस्तै बेला केजरीवालले १ दिवसीय विधानसभा सत्र बोलाएका छन् । यसप्रति समेत विपक्षले आपत्ति जनाएका छन् । विधानसभा सत्र १ दिवसीय मात्रै बोलाएर हतारहतार एजेन्डा पारित गर्न खोजेको विपक्षको आरोप छ ।

विधानसभामा विपक्षी दलका नेता रमेश बिधूडीले आपले विधानसभालाई राजनीतिक अखडा बनाएको बताए । १ दिवसीय विधानसभा सत्र बोलाउनु लोकतन्त्रको मजाक भएको उनले बताए ।

कांग्रेस दिल्लीका इकाई अध्यक्ष अनिल चौधरीले रक्सी घोटालामा उपमुख्यमन्त्री सिसोदियाले झूट बोलेको बताए । रक्सी घोटालाबारे श्वेत पत्र ल्याउनुपर्ने कांग्रेसको माग छ ।

यस्तै मागका बीच शुक्रवार विधानसभामा हंगामा हुनसक्ने चर्चा भारतीय सञ्चारमाध्यममा छ । दिल्लीसहित अन्य प्रदेशमा समेत प्रभाव जमाउँदै गएका केजरीवाल केही दिनयता दिल्लीमै घेरिएका छन् ।

प्रतिक्रिया दिनुहोस