एमाले पोलिटब्युरो बैठक : केन्द्रीय कमिटी बैठकका लागि ११ एजेन्डा तय

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, १६ : ०३
एमाले पोलिटब्युरो बैठक : केन्द्रीय कमिटी बैठकका लागि ११ एजेन्डा तय

काठमाडौँ  । नेकपा एमालेले पोलिटब्युरो बैठकले शुक्रबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि ११ वटा एजेन्डा तय गरेको छ । चुनावी रणनीति तय गर्नका लागि बस्न लागेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीका राजनीति प्रतिवेदन पेस गर्ने मुख्य एजेन्डा छ । एमाले प्रचार विभाव प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार अध्यक्षको राजनीतिक प्रतिवेदनमा अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र सत्ता गठबन्धनका कामकारबाहीको तस्बिर प्रस्तुत हुनेछ ।

अहिले राष्ट्रिय स्वाधीनतामा परिरहेको असरबारे पनि ओलीको प्रतिवेदनमा उल्लेख हुने उनले जानकारी दिए । बिहीबारको बैठकम ओलीले राजनीति प्रतिवेदनका मूल स्परिटबारे जानकारी दिँदै नेताहरुका सुझाव मागेका थिए । ओलीले गत चुनावमा ठूलो धाँधली भएर केही संख्यात्मकरुपमा एमाले पछि परे पपुलर मत एमालेकै बलियो रहेको बताएका थिए ।

उनले चुनाव हार्नुमा सत्ता गठबन्धन उसको धाँधलीमात्रै नभएर पार्टी भित्रको आन्तरिक गतिविधि पनि कारक रहेको बैठकमा उल्लेख गरेका थिए ।शुक्रबारबाट सुरु हुने बैठकले ४ नयाँ केन्द्रीय सदस्यहरुको शपथ र जिम्मेवारी बाँडफाँट, उम्मेदवारको छनौैट मापदण्ड पारित गर्नेछ । त्यस्तै स्थानीय तह चुनावका छानबिन समितिको कार्यदलको रिपोर्ट पेस कार्यसूची पनि छ ।

पार्टी सदस्यता नम्बर दोहोरो तेहेरो परेकाको हकमा विशेष निर्णय हुने पनि गुरुङले जानकारी दिए । त्यस्तै कन्द्रीय सल्लाहकार परिषद्को रिपोर्ट, भारत प्रवास कमिटीको नियमावली पनि पेस हुनेछ ।

प्रतिक्रिया दिनुहोस