३५ दिने सूचना जारी गरेर अनधिकृत संरचना भत्काउन सुरु गरेका हौँ : मेयर शाह

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, २० : ३३
३५ दिने सूचना जारी गरेर अनधिकृत संरचना भत्काउन सुरु गरेका हौँ : मेयर शाह

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौँमा अनधिकृत संरचनाहरु ३५ दिने सूचना जारी गरेर नै भत्काउन सुरु गरेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन्। उनले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेको नभइ ३५ दिने सूचना जारी गरेको बताएका छन्।

उनी भन्छन्, ‘हामीले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेका होइनौँ, ३५ दिने सूचना जारी गरेका थियौँ। तर, सो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहमा लागि कोही पनि सम्पर्कमा नआउनु भएको तितो अनुभव हामीसँग छ।’

अनधिकृत संरचनाहरुप्रतिको महानगरको अनुगमनलगायतका गतिविधि सधैँ रहने उनले बताएका छन्।उनी भन्छन्, ‘यसैले हामी अनुरोध गर्दछौँ कि अनधिकृत संरचनाहरु नबनाइयोस्, बनाएका अनधिकृत संरचनाहरु आफैले भत्काउनुहोस्। यसका साथै त्यस्ता संरचनाहरु भाडामा लगाउने नगरियोस्।’

अनधिकृत संरचनाहरुका भाडावालहरुलाई पर्न गएको असुविधाप्रति उनले दुःख व्यक्त गरेका छन्। साथै, त्यस्ता संरचनाहरु भाडामा लगाएर भाडावालालाई आर्थिक क्षति पुर्‍याएवापत हुन सक्ने कानुनी कारबाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरुबाट क्षतिपूर्ति गराउनेतर्फ महानगरले हदैसम्मको पहल गर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस