अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई दिने ईसीएफ अन्तर्गतको ऋण रोक्यो

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, २१ : १७
अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई दिने ईसीएफ अन्तर्गतको ऋण रोक्यो

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालसँग प्रतिवद्धता गरेको एक्सटेण्डेड क्रेडिट फसिलिटी (ईसीएफ) अन्तर्गत ऋणको दोस्रो किस्ता रोकेको छ ।

विदेशी विनिमय भित्र्याउने नेपाल राष्ट्र बैंकको अडिट अन्तर्राष्ट्रिय अडिट फर्मबाट गराउनुपर्ने उसको माग छ । तर, राष्ट्र बैंकको अडिट सरकारी लेखा परीक्षण गर्ने संस्था महालेखापरीक्षकको कार्यालयले गर्दै आएको छ ।

यो भनेको महालेखापरीक्षकको अडिटलाई आइएमएफले विश्वास नगरेको हो । ऋण रोकिएपछि सरकारले राष्ट्र बैंकको अडिट अन्तर्राष्ट्रियस्तरको अडिट फर्मबाट गराउन प्रक्रियासमेत सुरू गरेको जनाइएको छ । महालेखाले एक पटकका लागि अडिट गराउन अन्तर्राष्ट्रिय स्तरको लेखापरीक्षक नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको हो ।

कोषले पहिलो किस्ता ७८ दशलमब ५ मिलियिन एसडिआर सन २०२१ डिसेम्बर २२ मा दिएको थियो । दोस्रो किस्ता ३९ दशमबल २ मिलियन एसडीआर आउन भने ढिला भएको राष्ट्र बैंकका अधिकारीले बताएका छन् । अहिले मुद्राकोषको रिभ्यू चलिरहेको र यसमा उसले स्पष्ट नीतिगत सुधारको माग गरिरहेको बुझिएको छ ।

ईसीएफ अन्तर्गतको रकम सरकारले आफ्नो आवश्यकताका आधारमा खर्च गर्न सक्नेछ । मुद्रा कोषले ३८ महिनामा नेपाल सरकारलाई ३ सय ९८ दशमवल ८ मिलियन डलर बराबरको निर्ब्याजी रकम दिने गरी सम्झौता गरेको थियो ।