मोरङमा पेस्तोलसहित २ युवक पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, १० : १०
मोरङमा पेस्तोलसहित २ युवक पक्राउ

काठमाडौं । मोरङमा चाइनिज पेस्तोल र सिक्सर पेस्तोलसहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) सिक्टीले मोरङको सुनवर्षी नगरपालिका–८ खरेवारीबाट पेस्तोलसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका–८ हसनगढीका २८ वर्षीय आरिफ आलम र उर्लाबारी–६ का २९ वर्षीय नवीन धिमाललाई रहेका छन् । भारतबाट अवैध रूपमा ल्याएको पेस्तोल सशस्त्र प्रहरीले आलमको साथबाट बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका एसपी राजकुमार लामिछानेले जानकारी दिए । 

को२७प ४०६ नम्बरको पलसर मोटरसाइकल चेकजाँच गर्दा आलमको साथबाट अटोमेटिक चाइनिज पेस्तोल फेला परेको थियो । आलमले बोकेको पेस्तोल धिमालले मगाएको खुलेको थियो । सोही आधारमा धिमाललाई पनि पक्राउ गरिएको एसपी लामिछानेले बताए । 

प्रहरीले धिमालको साथबाट नगद ४७ हजार ७७० रुपैयाँ बरामद गरेको छ । धिमालले ६५ हजार रुपैयाँमा खरिद भारतबाट खरिद गरेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस