नवनिर्वाचितलाई पत्रकारको स्वागत

चितवनमा आमसञ्चार प्रतिष्ठान निर्माण हुनेछ : प्रचण्ड

विहीबार, २८ मंसिर २०७४, ११ : २१
चितवनमा आमसञ्चार प्रतिष्ठान निर्माण हुनेछ : प्रचण्ड

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले बिहीबार एक कार्यक्रमको आयोजना गरी चितवनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ । कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्य पदमा विजयी पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चितवनमा आमसञ्चार प्रतिष्ठान निर्माण गरिने बताएका छन् ।
चितवनबाट प्रतिनिधि सभाका तीन क्षेत्र र प्रदेश सभाका ६ क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कार्यक्रममा सबै क्षेत्रका विजयी उम्मेदवार उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, चितवनमा आमसञ्चार प्रतिष्ठान निर्माणको लागि वातावरण तयार पार्नेछु ।
गृहजिल्ला चितवनबाट पहिलोपटक निर्वाचनमा उम्मेदवार भई विजयी भएका प्रचण्डले यसअघि रोल्पा, काठमाडौँ र सिरहाबाट चुनाव लड्दा आफूलाई चुनाव लडेजस्तै नलागेको प्रतिक्रिया दिए । 


चितवनबाट चुनाव लड्दा बल्ल पहिलोपटक चुनाव लडेको वास्तविक अनुभूति भइरहेको छ, पूर्वप्रधानमन्त्री प्रचण्डले भने, यसपटक बल्ल चुनावको तितोमिठो, मर्म र भावना बुझ्ने अवसर पाएँ । उनले विकास र समृद्धिको संकल्पमा आफू दृढतापूर्वक उभिने प्रतिवद्धता जनाए ।
वाम गठबन्धनको अहिलेको जितलाई विश्वले चासोपूर्वक हेरिरहेको उनको भनाइ थियो । कम्युनिष्टले जिते अधिनायकवाद आउँछ भन्नेहरुलाई जवाफ दिँदै प्रचण्डले भने, वामपन्थीहरु बढी लोकतान्त्रिक हुन्छन् भन्ने कुरा आउने दिनमा प्रमाणित गरेर विश्वलाई देखाउनेछौँ ।
राजनीतिक स्थायित्व र आर्थिक विकासको एजेण्डा लिएर वाम गठबन्धन बनाइएको प्रष्ट पार्दै प्रचण्डले जनताले त्यसलाई उत्साहजनक ढंगले अनुमोदन गरेको बताए । नेपालको महारोग भ्रष्टाचारलाई नियन्त्रण गरेर वामपन्थीको सरकारले सुशासन दिने उनको दाबी थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनअपेक्षा अनुसार नै आफूहरुले काम गर्ने बताए ।


चितवन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्य पदमा विजयी पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले जनभावनालाई शिरमा राखेर त्यसलाई पूरा गर्न सदैव क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे । नेपालको विकासको लागि अन्तर्राष्ट्रिय क्षेत्रको साथ र सहयोग लिइने उनको भनाइ थियो ।


चितवन क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्य पदमा विजयी कृष्णभक्त पोखरेलले नवनिर्माण र समृद्धिको युगको आधार अबको पाँच वर्षमा तयार हुने बताए । उनले निर्वाचन गराउन प्रेसले निरन्तर दबाब दिएर साथ दिएको भन्दै धन्यवाद व्यक्त गरे । लोकतन्त्रलाई बलियो बनाउन प्रेससँग साझेदारी अनिवार्य रहेको उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रेस युनियनका विरष्ठ उपाध्यक्ष दीपक अाचार्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस