पहिले मायाजाल पछि लाखौं बार्गेनिङ

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, ०८ : २३
पहिले मायाजाल पछि लाखौं बार्गेनिङ

दाङ । दाङमा हनिट्रयापमा पारेर रकम असुली गर्ने महिलाको गिरोह सक्रिय देखिएको छ। पहिले योजनाबद्ध रूपमा पुरुषलाई मायाजालमा पार्ने र पछि बलात्कारको आरोप लगाउदै रकम असुली गर्ने गिरोह सक्रिय देखिएको हो। 

दाङमा एक व्यवसायीलाई हनिट्रयाप पारेर आर्थिक लाभ लिन खोज्ने एक गिरोहलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ। दाङको घोराही उपमहानगरपालिका(१० नारायणपुरमा सुनचाँदी व्यवसाय गर्ने दिनेश घर्ती मगरलाई योजनावद्ध ढंगले मायाप्रेमको नाटक गरी रकम असुली गर्ने एक पुरुष र चार जना महिलाको समूहलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो।

दिनेशलाई हनिट्रयापमा पार्ने घटनामा संलग्न रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीय दिलिप कुमार वली, घोराही उपमहानगरपालिका १० नारायणपुरका ३२ वर्षीया पवित्रा डाँगी, सोही ठाउँ बस्ने ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया सर्मिला भनिने पर्मिला नेपालीलाई प्रहरीले सार्वजनिक गरेको हो। पक्राउ परेको उनीहरूले दिनेशसँग प्रेमको नाटक गरी बलत्कारको मुद्दा लगाउने धम्कि दिएर रकम असुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए। पक्राउ परेकामध्ये सर्मिला नेपालीले पीडित घर्तीलाई साउन २६ गते राती ११ बजे योजनाबद्ध तरिकाले आफ्नो घरमा बोलाएकी थिइन्। 

पछि बलत्कारको मुद्दा लगाइदिने भन्दै रकम असुली गरेको प्रहरीको भनाइ छ। त्यसपछि सोही समूहले भोलिपल्ट साउन २७ गते ती व्यापारीसँग १ लाख रूपैयाँ नगद र ११ लाख २० हजारको चेक लगेको थियो। उनीहरूलाई रकम र चेक दिएपछि दिनेशले प्रहरीलाई जाहेरी दिए र घटना बाहिर आएको हो। 

दिनेशको जाहेरी लगत्तै उनीहरू सोही दिन अर्थात गत साउन २७ गते नै पक्राउ परेका थिए। प्रहरीले पाँच दिनसम्म अनुसन्धान गरेर उनीहरूलाई सार्वजनिक गरेको बताएको छ। प्रहरीका अनुसार दिनेशलाई हनिट्रयापमा पारेर रकम असुल्ने योजना करिब एक महिनादेखि कै रहेको बुझिएको छ। पक्राउ परेका पाँच जनाका साथै स्थानीय अजय बुढाथोकी र लोकेन्द्र मगरसमेतको सहभागितामा एक महिनादेखि रकम असुल्ने योजना बनेको प्रमाणहरू फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताए।

अजय र लोकेन्द्र फरार रहेको र उनीहरूको खोजी भइरहेको गौतमले जानकारी दिए। गौतमका अनुसार प्रमिलालाई सुनको तिलहरी बिक्री गर्ने बाहनामा दिनेशको पसलमा पठाएर चिनजान गराउने, फोन नम्बर साटासाट गराउने र नियमित कुराकानीमार्फत नजिक बनाएर कोठामा बोलाउने योजना उनीहरूको देखिन्छ। त्यही अनुसार व्यवसायीले कोठामा बोलाएर रकम असुल्ने प्रयास भएको देखिन्छ। कोठामा आएको मौकामा सबै आएर ढोका खोल्ने र बलात्कार गर्न खोजेको भनेर अप्ठेरोमा पारी उनीहरूले रकम असुलेको गौतमले बताए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस