ज्येष्ठ नागरिकलाई मोबाइल वितरण

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, ०८ : ४४
ज्येष्ठ नागरिकलाई मोबाइल वितरण

काठमाडौं । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आफैंले सञ्चालन गर्दै आएको शैक्षिक कार्यक्रममा शिक्षार्थीका रुपका सहभागी ज्येष्ठ नागरिकलाई मोबाइल फोन वितरण गरेको छ । 

प्रतिष्ठानले ललितपुरको बुङमतिमा ४० निरक्षर ज्येष्ठ नागरिकका लागि गत वर्षदेखि साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । कक्षामा सहभागी सबैलाई एक थान मोबाइल फोन उपलब्ध गराइएको प्रतिष्ठानले जनाएको छ । बुधबार बुङमतिमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ज्येष्ठ नागरिकलाई मोबाइल हस्तान्तरण गरे ।

प्रतिष्ठानले अधिकारीको ८६ औं जन्मजयन्तीका अवसरमा गत वर्ष एक वर्षे ‘ज्येष्ठ नागरिकका लागि आधारभूत शैक्षिक कार्यक्रम’ मार्फत निरक्षर ज्येष्ठ नागरिकलाई सामान्य लेखपढ गर्न, हिसाब राख्न, मोबाइल फोन, इलेक्ट्रोनिक सामान र टेलिफोन प्रयोग गर्न तथा सडक संकेतबारे जानकारी लिन सक्ने बनाइने घोषणा गरेको थियो । 
समयसीमाभित्रै उक्त लक्ष्य हासिल भएको प्रतिष्ठानकी सदस्य एवं दिवंगत वामपन्थी नेता अधिकारी पुत्री लीमा अधिकारीले जानकारी दिइन् ।

ज्येष्ठ नागरिकलाई आफन्त, साथीभाई र सन्तानहरुसँग कुराकानी गर्न सहज होस भन्नका लागि मोबाइल वितरण गरिएको अधिकारीले बताइन् । प्रतिष्ठानले प्रदेश–१ को विराटनगरमा पनि यस्तै प्रकृतिको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमलाई सातवटै प्रदेशमार्फत देशभर विस्तार गरिने प्रतिष्ठानकी अध्यक्ष एवं भरतमोहनकी धर्मपत्नी सविता अधिकारीले जानकारी दिइन् । 

प्रतिक्रिया दिनुहोस