नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षण सुरु

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, २१ : ४६
नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षण सुरु

काठमाडौँ । यसै साता नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका मनोज प्रभाकरले नेपाली टोलीको अभ्यास सुचारु गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रभाकरले अभ्यासको थालनी गरेका हुन्। उनको प्रशिक्षणमा नेपाली टोली केन्या भ्रमण गर्दैछ।

पुबुदु दशानायकेले ७ महिनाको प्रशिक्षण यात्रालाई अन्त्य गरेसँगै नियुक्त भएका प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङलाई सुधार गर्ने प्रतिवद्धता जनाएका छन्।पहिलो दिनको सामान्य अवलोकनपछि प्रभाकरले नेपाली टोलीमा टेक्निकको समस्या रहेको बताए। केन्या भ्रमण गर्न लागेको टोलीमा नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिसकेको छ।

अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुन लागेको पाँच खेलको ट्वान्टी–२० सिरिज र तीन खेलको एक दिवसीय सिरिजका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो। जसमा ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने यु–१९ टोलीका विकेटकिपर अर्जुन साउँद पनि टोलीमा अटाएका छन्।

राष्ट्रिय टोलीमा पछिल्लो पटक स्कटल्याण्ड भ्रमण गरेका विनोद भण्डारी, कुशल भुर्तेल र सुनिल धमला टोलीबाट बाहिरिएका छन् भने अर्जुन साउँद पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका हुन्। यस्तै वैकल्पिक खेलाडीमा क्यानले चार खेलाडी समावेश गरेको छ। वैकल्पिकमा तीब्र गतिका बलर जितेन्द्र मुखियासहित भीम सार्की, प्रतिश जिशी र हरिशंकर शाह रहेका छन्।

प्रतिक्रिया दिनुहोस