आगामी निर्वाचनमा पार्टीको राजनीतिक हैसियतका आधारमा सिट बाँडफाँट हुन्छ : महामन्त्री थापा

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, १४ : ५८
आगामी निर्वाचनमा पार्टीको राजनीतिक हैसियतका आधारमा सिट बाँडफाँट हुन्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कँंग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुकै आधारमा रहेर पार्टी आगामी संघ र प्रदेशको निर्वाचनमा प्रतिष्पर्धा गर्न लागेको बताएका छन् । ललितपुरमा भइरहेको स्थानीय तहमा विजयी भएका जनप्रतिनिधिहरुको जनअभिमुखी कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

त्यस्तै उनले केही दलका नेताहरुले वि.सं. २०७४ सालको निर्वाचनतिर फर्काउन लागेको आरोप लगाए । उनले आफूविरुद्ध रहेका नेताहरुलाई गत वैशाख ३० गतेको स्थानीय तहमा नेपाली काँग्रेसले पाएको मतलाई बुझ्न आवश्यक रहेको बताए । महामन्त्री थापाले आगामी निर्वाचनका लागि पार्टीले गठबन्धनमा पनि शीर्ष स्थान बनाइसकेको भन्दै आफ्नो हैसियत अनुसार सिट प्राप्त गर्ने बताए ।

उनले वर्तमान पार्टीको राजनीतिक हैसियतका आधारमा सिट बाँडफाँट हुने बताए । उनले भने, ‘केही अरु दलको साथीहरु हामीलाई २०७४ तिर फर्काउन चाहनुहुन्छ । हामी उहाँहरुलाई २०७९ सम्झाउन चाहन्छौँ । २०७४ लाई सम्झिँदै गर्दा नमिठो लाग्छ । २०७९ को स्थानीय निर्वाचन सम्झिँदै गर्दा खुशी लाग्छ । हाम्रो फुर्ति बढ्छ । त्यसैले आज गठबन्धन र यसको परिणाम के आउँछ मलाई थाहा छैन । हामी भर्खर छलफल गर्दैछौँ ।’

प्रतिक्रिया दिनुहोस