कविता : खा

सोमबार, २८ जेठ २०७५, १३ : ४१
कविता : खा

खा

- प्रकाश चापागाईं

खा सर्वोदय सान मान पगरी जिब्रो चपाएर खा
खा निस्ठा र इमान खा लगन खा संस्कार आचार खा
खा खा हुन्न अजिर्ण काफल न हो स्वाधीन बिर्सेर खा
खा भाषा अनि सभ्य संस्कृति सबै एकेक मासेर खा

खा च्याँखे कति पाउलास् सकुनिका पासा लडाएर खा
खा सौन्दर्य हिमालको सगरको आभा भजाएर खा
खा उद्योग विकासका सुरचना दूबो उमारेर खा
खा संन्जाल रचेर देश ढुकुटी भत्ता बढाएर खा

पानीमा ढलको छ गन्ध नमिठो पेट्रोल खा तेल खा
खा खाने परिकार तौर तरिका फेरेर पेलेर खा
खा खा तस्करको मिलीभगतमा खा रत्नका हार खा
खा खा जन्म अगस्तिको छ घिचुवा नाता गुहारेर खा

खा खानी हिमरत्न औषध बुटी भेटी चढाएर खा
खा खा जीवन लोकमाझ सुरसा जस्तै चपाएर खा
खा खा लाज हुँदैन रे सडकमा बाजा बजाएर खा
खा सित्तै अलकत्र मिल्दछ भने लाजै पचाएर खा

तन्नेरी बल जोस जाँगर सबै सीमा कटाएर खा
चेलीका प्रिय अस्मिता पनि लुटी धोको पु-याएर खा
पुर्खाका इतिहासका प्रिय कथा कुल्चेर पोलेर खा
खा सित्तै अलकत्र मिल्दछ भने लाजै पचाएर खा

खा खा न्याय समानता र सुखका आसा निमोठेर खा
खा वृध्दा अनि व्रृध्द बाल मनका इच्छा निचोरेर खा
खा खा नैतिकका कथा अब कता गाथा उधारेर खा
खा खा गौरल राष्ट्रको अझ सके यो देश बेचेर खा

प्रतिक्रिया दिनुहोस