नेपाली क्रिकेटमा मनोज प्रभाकरका चुनौती

सफल खबर संवाददाता

शुक्रबार, २७ साउन २०७९, १६ : ४७
नेपाली क्रिकेटमा मनोज प्रभाकरका चुनौती

काठमाडौँ  । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गर्ने निधो गरिसकेको छ। साथै, राष्ट्रिय क्रिकेट टोलीलाई केन्या भ्रमण गराउने पनि निश्चित भइसकेको छ। पूर्वप्रशिक्षक पुबुदु दाशानायकेको प्रशिक्षणमा पछिल्लो पटक दुई वटा भ्रमण गरेको टोली अपेक्षाअनुसार प्रदर्शन गर्न असफल भयो। विभिन्न समस्या देखाउँदै पुबुदु बाहिरिएसँगै नयाँ प्रशिक्षकका लागि चुनौती भने धेरै छन्।

पुबुदुले प्रशिक्षकबाट छाडेपछि भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरलाई क्यानले मुख्य प्रशिक्षक बनायो। तर, नेपाली क्रिकेटमा रहेका विभिन्न चुनौतीको सामना गर्न उनलाई त्यति सहज भने हुने छैन। किनभने प्रभाकर पहिलोपटक नेपालमा क्रिकेट प्रशिक्षक बनेर आएका छन्। साथै, उनले कुनै पनि राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको नेतृत्व सम्हाल्न लाग्दै छन्। के–के हुन् त प्रशिक्षक मनोजका चुनौतीहरू, जुन नेपाली क्रिकेटमा सुधारका लागि निकै आवश्यक छन्। पछिल्लो पटक नेपालले स्कटल्याण्ड भ्रमण गर्दा नेपाली राष्ट्रिय टिमले अपेक्षाअनुसारको नतिजा निकाल्न सकेन। चार खेलमध्ये एक खेलमा मात्र सुखद नतिजा निकालेको नेपालले बाँकी तीन खेल गुमाएपछि विभिन्न कारण केलाउन थालिएको छ।

मुख्यतः टोलीमा एकजुट समस्या, ब्याटिङ समस्या बाहिरी सतहमा देखिन थालेका छन्। यससँगै एक दिवसीय मान्यता गुम्ने डर पनि त्यत्तिकै छ। क्यानले प्रभाकरलाई मासिक १५ हजार डलरसहित अनुबन्ध गरेको नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिए।

उनले प्रभाकरको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले थप उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे।उनले भने, ‘पुबुदुलाई हामीले दुई वर्षको सम्झौता गरेर ल्याएका थियौं। पारिवारिक कारणले उहाँ जानुभयो। रिक्त पदमा लामो कसरतपछि मनोज प्रभाकरलाई जिम्मा दिने निर्णय गरेका छौं। उहाँलाई हाराहारी १४÷१५ हजार डलर (ट्याक्ससहित) दिने सहमति भएको छ। उहाँ अनुबन्ध भएसँगै नेपाली क्रिकेटले थप उचाइ पाउने अपेक्षा राखेको छ। किनभने कुनै समय भारतका लागि प्रभाकर अब्बल खेलाडी थिए। पछिल्लो समय अफगानिस्तानलाई टेस्ट नेसन्स बनाउन उहाँको देन निकै महत्वपूर्ण थियो।’

प्रशिक्षक मनोज प्रभाकर शनिबार साँझ नेपाल आउँदै छन्। नेपाली टोली सम्हाल्न आउन लागेका मनोजलाई नेपाली क्रिकेट सुधार गर्ने चुनौती धेरै छन्। मनोजलाई सीमित स्रोत–साधनलाई अधिकतम प्रयोग गर्नुपर्ने पहिलो चुनौती रहेको छ। प्रभाकर जहाँ क्रिकेटका लागि कुनै पनि कन्जुस्याइँ नहुने अब्बल देश भारतका खेलाडी हुन्। जहाँ पूर्वाधारको कुनै कमी थिएन। तर, उनलाई नेपालमा भएको सीमित साधनको अधिकतम प्रयोग गर्दै विश्व स्तरमा प्रतिष्पर्धा गर्न योग्य टोली बनाउने चुनौती हुनेछ। अहिले टोलीमा नयाँ युवा खेलाडीको वचश्र्व छ। टोलीमा अनुभवी खेलाडी प्रायः शून्य छन्। यही अवस्थामा क्यानका मिडिया म्यानेजर दुर्गाराज पाठकले नयाँ प्रशिक्षकले युवा खेलाडीलाई समेट्दै अनुभव दिलाउने बताए। उनले ब्याटिङ पक्षको सुधारलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताए।

प्रतिक्रिया दिनुहोस