कोभिडविरुद्धको युद्धमा विजय हासिल गरेको किम जोङको घोषणा

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, ०८ : २६
कोभिडविरुद्धको युद्धमा विजय हासिल गरेको किम जोङको घोषणा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले कोभिड–१९ विरूद्धको युद्धमाथि विजय हासिल गरेको घोषणा गरेका छन्।  झण्डै दुई सातासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले बुधबार यस्तो घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

स्वास्थ्यकर्मी र वैज्ञानिकहरूसँगको बैठकको अध्यक्षता गर्दै किमले विश्वव्यापी महामारीका रूपमा फैलिएको घातक रोग विरुद्धको युद्धमा विजय प्राप्त गरेको घोषणा गरेका हुन् । उनले भाइरसमाथि आफूहरूले चमकदार विजय घोषणा गरेको भन्दै उत्तर कोरियालीहरूको अदम्य दृढता को प्रशंसा गरे।

महामारीको सुरुवातदेखि नै कडा नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो। ओमिक्रोन देखिएपछि उसले अधिकतम आपतकालीन महामारी रोकथाम प्रणाली सक्रिय पारेको थियो। उसले सुरुमा परीक्षण नै नगरी ज्वरोका बिरामी भन्दै कोभिडलाई नजरअन्दाज गरेको थियो।

यसैबीच बिबिसीका अनुसार किम आफैं ज्वरोले ग्रस्त थिए। उनकी बहिनीका अनुसार किमलाई कोरोना प्रकोपको समयमा ज्वरोले ग्रस्त पारेर गम्भीर बिरामी बनाएको थियो।  ‘उनी उच्च ज्वरोबाट गम्भीर बिरामी भए पनि आफूले हेरचाह गर्नुपर्ने जनताको बारेमा सोच्दै एक क्षण पनि सुत्न सकेनन्।

महामारीविरूद्ध युद्धको सामना गरे र विजयी प्राप्त गरे’, बहिनीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। किमले उत्तरमा प्रकोप भित्रनुमा दक्षिण कोरियाको हात रहेको आरोप लगाए। उत्तर कोरियामा हालसम्म कोरोना भाइरसबाट ७४ जनाको ज्यान गएको बताइएको छ। 

प्रतिक्रिया दिनुहोस