नेपालसामु सैन्य युद्ध आतंकको खतरा छः देव गुरुङ

सफल खबर संवाददाता

बुधबार, २५ साउन २०७९, १९ : १८
नेपालसामु सैन्य युद्ध आतंकको खतरा छः देव गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले नेपालसामु सैन्य युद्ध आतंकको खतरा रहेको बताएका छन्। बुधबार काठमाडौँमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले विश्व साम्रज्यवादले अहिले नेपालसहित पूर्वी मुलुकमा इण्डोप्यासिफिकको सम्झौता अघि सारेर सैन्य युद्ध मच्चाउन लागेको लगाए। नेता गुरुङले पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको उल्लेख गर्दै नेपाललाई सैन्य अड्डा र द्वन्द्वस्थल बनाउने खतरा रहेको दाबी गरे। उनले देशलाई सैन्य क्रिडास्थल बनाउने प्रक्रियाबाट जाँदा नेपाल कुनै दिन अफगानिस्तान र दोस्रो युक्रेनमा परिणत हुनसक्ने चेतावनी दिए।

नेपालमा विदेशीहरुको सैन्य बेस क्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुने भन्दै राष्ट्रिय स्वाधिनताको मुद्दामा सबै पार्टी र जनता एकसाथ हुनुपर्ने गुरुङको भनाइ छ।

उनले भने, ‘विश्व साम्रज्यवादले जुन प्रकारको युद्ध आतंक मच्चाउन खोजिरहेको छ, साउथ एशिया र इण्डो प्यासिफिक क्षेत्रमा युद्ध आतंक मच्चाउन खोजिरहेको छ। पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको छ। पूर्वमा इण्डोप्यासिफिक अघि सारेर युद्ध मच्चाउन खोजिरहेको छ। युद्धको स्थितिले गर्दा तत्काल नेपालको स्थिति के हो भन्ने प्रश्न उठेको छ। नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने प्रक्रियाबाट जाने हो भने नेपाल कुनै दिन अफगानिस्तान, युक्रेन हुनसक्ने खतरा छ।

हामीसामु युद्ध र सैन्य गतिविधिको खतरा छ। हामीसामु युद्ध आतंकको खतरा छ। युद्धको रुपमा नेपालमा विदेशीहरुको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुन्छ। देशलाई एकतावद्ध गरेर लैजान पनि राष्ट्रिय दलहरुको बीचमा राष्ट्रिय सहमतिको जरुरी छ।’

उनले नेपालको इतिहासमा सुगौली सन्धिदेखि नै नेपालको राष्ट्रिय स्वाधिनता कुण्ठित हुँदै आएको बताए। उनले नेपालमा खुला सीमानाका कारण जनसांख्यिक अतिक्रमण, अवैध प्रकारका सामग्रीहरुको ओसारपसारको वृद्धि र राजश्व छली भइरहेको बताए।

यस्ता घटनाको गम्भीर असर देशको अर्थतन्त्रमा परिरहेको बताए। उनले नेपाल र भारतबीचको खुला सीमा नियन्त्रित र व्यवस्थित गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस