अनिल परियारको हत्यामा संलग्न दुईजना जेल चलान

प्रकाश सिग्देल

बुधबार, २५ साउन २०७९, १६ : ०७
अनिल परियारको हत्यामा संलग्न दुईजना जेल चलान

चितवन । भरतपुर महानगरपालिका–१२ का २८ वर्षीय अनिल परियार (कान)को हत्यामा संलग्न मध्य तीन जनाको  थुनछेक आदेश भएको छ ।अदालतमा साउन २० गते शुक्रबार मुद्दा दर्ता भएको थियो ।  न्यायाधीश रितेन्द्र थापाको इजलासले कानको हत्यामा आरोपमा पक्राउ परेका ३  जना मध्य २ जनालाई थुनामा पठाएको छ भने १ जनालाई २० हजार धरौटीमा छाडेको छ ।

भरतपुर महानगरपालिका वडा नं–१५ बस्ने वर्ष ३५ को विश्व भन्ने हेमन्त बास्तोला, भरतपुर महानगरपालिका वडा नं–१२ बस्ने वर्ष २३ को राहुल परियार भन्ने सुनिल रावल लाई पुरपक्षका लागि थुनामा पठाएको छ ।

त्यस्तै माडी नगरपालिका घर भई हाल भरतपुर–१५ मा डेरा गरी बस्ने वर्ष २५ को रोहित प्रसाद सिलवाललाई २० हजार धरौटीमा छाडिएको छ ।हत्यामा एक जना अजय सिंह भन्ने अशोक भण्डारी, तिलक गैरे र सुशान्त उप्रेती अझै फरार रहेको चितवन जिल्ला अदालतका श्रेष्तेदार ईश्वर आचार्यले बताए ।

फरारको हकमा म्याद जारी गर्ने र म्याद भित्र अदालतको सम्पर्कमा नआए बाकी प्रक्रिया अगाडी बढाईने उनको भनाई छ ।भरतपुर–१२ का अनिल परियार (कान)को हत्या सम्बन्धमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र प्रहरीको बागमती प्रदेशबाट पनि एउटा टोली खटिएको थियो । भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर खेल मैदान नजिकै वैशाख २५ गते राति ७ः३० बजेको समयमा परियारलाई हतियार प्रयोग गरी हत्या भएको थियो । 

प्रतिक्रिया दिनुहोस