पुस्तक समीक्षा : दोभानमा उभिएर सर्सर्ती हेर्दा

सूर्यप्रकाश कँडेल

शनिबार, २६ जेठ २०७५, १६ : ४४
पुस्तक समीक्षा : दोभानमा उभिएर सर्सर्ती हेर्दा

चितवन । दोभानमा उभिएर कविता संग्रह कवि कमल कँडेल प्रकृतिको छैटौँ पुस्तक हो । २०५३ सालमा प्रकृति स्मृति संयुक्त कविता संग्रह निकालेका प्रकृतिले गतवर्ष मजदुर उपन्यास प्रकाशित गरेका थिए । यसवर्ष जेठ ३ गते विमोचन गरिएको दोभानमा उभिएर कविता संग्रह चितवन साहित्य परिषद्ले प्रकाशन  गरेको हो ।
असी पृष्ठको पुस्तकमा ६७ वटा पृष्ठमा ५४ वटा लघु गद्य कविता समेटिएका छन् । अन्तिम पृष्ठमा कविको परिचय राखिएको छ । आवरण पृष्ठमा पवित्र तीर्थस्थल देवघाटधामको वेणी दोभानको तस्बिर छ । दोभानमा उभिएर कविता संग्रहभित्र रहेका कवितामा भाव पक्ष उजागर भएपनि कला पक्ष भने ओझेलमा परेको छ । बिम्बको अभाव महसुस हुन्छ । सर्सर्ती पढ्दा भाषिक जटिलता नभएकोले पाठकलाई त्यति उल्झन हुँदैन ।

कविता संग्रहभित्र सात पंक्तिको एउटा कविता पल–प्रतिपलदेखि ६० पंक्तिको साथीहरु शीर्षक कविता रहेका छन् । भूकम्प, पहिरो र बाढीबारे लेखिएको पल–प्रतिपल शीर्षकको कविता अपूरो देखिन्छ । पृष्ठ पाँचमा रहेको तिम्रो सम्झनामा शीर्षक कविता कसको सन्दर्भमा लेखिएको हो भन्ने नै खुल्दैन । केही कविताहरुको सन्देश के हो भन्ने ठम्याउनै सकिँदैन ।

मन, नैतिकता, विचार, यात्रा, शताब्दी, गठबन्धन, निर्ममता, माटो, नहर, उपहास, मजदुुर, युवा, समय, सत्यता, परिवेश, प्रजातन्त्र केही कविताका शीर्षक हुन्, जहाँ कवि कमल कँडेल प्रकृतिले राष्ट्र, समाज, व्यक्ति, सँस्कृति र प्रजातन्त्रप्रति चिन्ता व्यक्त गरेका छन् । मोती, सेक्सपियर र हेनरी ड्युनाको नाम शीर्षकमै राखेर तीन जनाको विषयमा अलगअलग कविता लेखिएको छ । पृष्ठ ५१ मा रहेको आतङ्क शीर्षक कवितामा कवि यसो भन्छन्,

मानिसले मानिसको
अपहरण, हिंसा, हत्या गर्छ भने
कसरी मानिस सर्वश्रेष्ठ हुन सक्छ ?
सर्वश्रेष्ठ हुन त
मानिसले मानिसलाई
प्रेम गर्न जान्नु पर्छ ।

कवि प्रकृतिका अधिकांश कवितामा मानवता, प्रेम, शान्ति, प्रजातन्त्र, अनुशासनको अपेक्षा गरिएको छ । सुन्दर समाजको चाहना अभिव्यक्त भएको छ । कवितामा कला पक्षलाई अलि जोड दिएर कविले बिम्बको प्रयोग बढाउने हो भने नेपाली साहित्यले भावी दिनमा कविताको अझै राम्रो कृति उनीबाट पाउने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस