ललितपुरका सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थ बेचबिखन गर्न नपाइने

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १६ : २५
ललितपुरका सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थ बेचबिखन गर्न नपाइने

काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरभित्र सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थ बेचबिखन गर्न रोक लगाएको छ । सोमबारदेखि महानगरपालिकाले सार्वजनिक स्थलबाट सूर्तिजन्य पदार्थ बेचबिखन गर्न रोक लगाएको हो । ललितपुर महानगरको नगर प्रहरी बलका सीताराम हाछेथुले सोमबार पत्र पठाउँदैं सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्ने पसलहरुलाई उक्त कार्य नगर्न आग्रह गरेका हुन् ।

उनले सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ परिच्छेद ३ दफा ११ को उपदफा ३ बमोजिम शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रदान गरी तोकिएको सार्वजनिक स्थानबाट कम्तिमा १ सय मिटरभित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने व्यवस्थालाई सम्झाउँदैं उक्त पत्र पठाएका हुन् ।

‘आज हामीले ३८ वटा पसलहरुलाई सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थ बेचबिखन नगर्न पत्र पठाएका छौं,’ उनले भने, ‘अब बाँकीलाई पनि हामी पत्र दिन्छौं ।’ नगर प्रहरी बलले सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थप्रति आकर्षित हुने गरी बिक्रीस्थलमा सजावट र प्रदर्शन गर्न पनि रोक लगाएको छ ।

नगर प्रहरी बल प्रमुख हाछेथुसहितको टोलीले विभिन्न पसलहरुको अनुगमन गरेर प्रदर्शन तथा सजावट गरेका सूर्तिजन्य पदार्थसमेत हटाएको थियो । पत्रपछि यसको कार्यन्वयन नगर्नेलाई सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनअनुसार १० हजार रुपैयाँसम्म जरिवाना हुने उनले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस