बाढी-पहिरो पीडितको उद्धार र राहतबारे सांसदले गराए सरकारकाे ध्यानाकर्षण

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १२ : २७
बाढी-पहिरो पीडितको उद्धार र राहतबारे सांसदले गराए सरकारकाे ध्यानाकर्षण

काठमाडाैँ । सांसदहरूले पछिल्लो दिनमा परेको वर्षासँगै आएको बाढी-पहिरो पीडितलाई उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा उनीहरूले बाढीपहिरोपीडितको उद्धार र राहत गर्न तथा बढेको स्वास्थ्य जोखिम नियन्त्रण गर्दै उपचारको व्यवस्था गर्न माग गरेका हुन्।

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो गएको र पहिरोले बाटो अवरुद्ध हुनुको साथै ३३ घर जोखिममा परेको सांसद शेरबहादुर तामाङले सरकारको ध्यानाकर्षण गराए।

आफ्नो जिल्लामा गएको बाढीपहिरोबारे जानकारी दिँदै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्। यसरी ध्यानाकर्षण गराउने सांसदहरूमा लक्ष्मी परियार, लालप्रसाद साँवा लिम्बू, लालबहादुर थापा, विद्या भट्टराई, विनाकुमारी बुढाथोकी, विद्या भट्टराईलगायत छन्।

साथै वर्षासँगै थुप्रिएका फोहोरले जनस्वास्थ्यमा असर गर्ने भन्दै विनाकुमारी श्रेष्ठ, विष्णु शर्मासहितका सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।