पहिरो बग्न नरोकिएपछि साँफे–मार्तडीको वैकल्पिक मार्ग निर्माण गरिँदै

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, ०८ : १५
पहिरो बग्न नरोकिएपछि साँफे–मार्तडीको वैकल्पिक मार्ग निर्माण गरिँदै

काठमाडौं । लगातारको वर्षाका कारण अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्गको अम्कोटमा पहिरो बग्न नरोकिएपछि वैकल्पिक मार्ग निर्माण सुरु गरिएको छ ।

बुढीगङ्गा नगरपालिका–२ को बल्दे हुँदै अम्कोटको गाउँबाट द्वारीको राजमार्ग सडकमा मिलान गर्ने गरी वैकल्पिक बाटो निर्माण सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

साँफे–मार्तडी सडकखण्डको पहिराबाट क्षतिग्रस्त बल्दे क्षेत्रमा वैकल्पिकमार्ग निर्माण थालिएको हो । एक साताभित्र वैकल्पिक मार्ग निर्माणको काम अघि बढाउने गरी यही साउन १७ गते भएको सहमतिअनुसार बिहीबारदेखि काम सुरु भएको सडक डिभिजन कार्यालय साँफेबगरले जनाएको छ । 

बुढीगंगा नगरपालिका, स्थानीय जग्गाधनी र सडक डिभिजन कार्यालय साँफेबीचको वैकल्पिक मार्ग निर्माण गर्ने त्रिपक्षीय सहमति भएको थियो । बल्दे क्षेत्रमा पहिरो जान थालेको चार वर्षपछि वैकल्पिक बाटो निर्माणको काम अघि बढेको हो । नगरपालिकाले थालेको जग्गाधनीसँगको छलफलपछि नयाँ बाटो निर्माणका लागि जमिन दिन स्थानीय तयार भएका हुन् ।

उनीहरुले मुआब्जा नलिएर नै सडक निर्माण गर्न दिने साउन १५ गतेमात्र लिखित सहमति गरिसकेका छन् ।  निर्माणको काम सडक डिभिजन कार्यालयकै मेसिनमार्फत गरिने डिभिजन कार्यालय प्रमुख राजेश यादवले बताए ।

प्रतिक्रिया दिनुहोस