चुनावका लागि आयोगले तत्काल के–के गर्दैछ काम ?

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, ०८ : ०९
चुनावका लागि आयोगले तत्काल के–के गर्दैछ काम ?

काठमाडौं । मंसिर ४ गते आइतबारका लागि तोकिएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तत्काल विभिन्न ९ वटा काम अघि बढाउने भएको छ ।  जसअनुसार शुक्रबारदेखि नै मतदाता नामावली संकलन कार्य स्थगित हुने भएको छ ।

तर, अनलाइन प्रविधिमार्फत फाराम भरेर औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा साउन २१ सम्म समय दिइएको छ । 

यस्तै मतदान स्थल तथा मतदान केन्द्रहरूको पुनरावोलकन गरी अद्यावधिक गरिने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  यस्तै राजनीतिक दल दर्ता प्रक्रिया प्रारम्भ गर्ने, निर्वाचन कार्यतालिका र कार्यक्रम स्वीकृत गरी आवश्यक कार्य गर्ने, समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यालय स्थापन गरी यथाशीघ्र कार्य सुरु गर्ने कार्य आयोगले तत्काल गर्नेछ । 

यसैगरीनिर्वाचनका लागि आवश्यक जनशक्तिको आकलन गरी विवरण संकलन तथा अद्यावधिक गर्ने, निर्वाचनका लागि आवश्यक बजेट तर्जुमा गरी सहमतिका लागि अर्थमन्त्रालय पठाउने, निर्वाचन पर्यवेक्षण निर्देशिका स्वीकृत गरी निर्वाचन पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई आह्वान गर्ने योजना पनि आयोगको तत्काल गर्ने कामको सूचीमा छ । 

यस्तै निर्वाचन प्रयोजनका लागि आवश्यक विभिन्न निर्देशिका, कार्यविधि तथा मापदण्ड स्वीकृत गरी तत्काल कार्यान्वयनमा ल्याइने पनि शर्माले जानकारी दिए । आयोगले  आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउन सरकार, राजनीतिक दल, नागरिक समाज, आम संचार माध्यम, अन्तर्राष्ट्रिय समुदाय लगायत सम्पूर्ण सरोकारवालाबाट सहयोगको अपेक्षा पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस