काठमाडाैँ । ताइवानको विषयमा अमेरिका र चीनबीच तिक्तता बढिरहँदा नेपालका कम्युनिस्ट पार्टीले एक चीन नीतिको पक्षमा उभिनुपर्नेमा जोड दिएका छन् ।अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइवानको राजधानी ताइपेई सिटी भ्रमण गर्नुलाई कम्युनिस्ट नेताले एक चीन नीतिको विरुद्धमा अमेरिका उभिएको रूपमा अर्थ्याएका छन् ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका अध्यक्ष ऋषि कट्टेलले उत्पीडित राष्ट्रको पक्षपोषण गर्ने राष्ट्रका रूपमा उदाएको चीनविरुद्ध अमेरिकालगायतका साम्राज्यवादी शक्ति सलबलाएको बताए ।
संयुक्त राष्ट्रसंघले नै स्वीकार गरेको एक चीन नीतिविरुद्ध अमेरिका सक्रिय भएको कट्टेलको आरोप छ । अमेरिकी सांसदकी सभामुख पेलोसीको ताइवान भ्रमणको विरोध गर्दै उनले हिन्द प्रशान्त क्षेत्रीय रणनीतिअन्तर्गत नै अमेरिकाले चलखेल बढाएको दाबी गरेका छन् । विभिन्न नीतिमार्फत अमेरिकाले चीनमा अशान्ति मच्चाउन चाहेको उनले बताए ।
'ताइवानलाई उचालेर अशान्त मच्चाउन चाहन्छ । दोस्रो, फ्रि तिब्बतको नाममा तिब्बतीयनलाई उचालेर चीनमा अशान्ति मच्चाउन चाहन्छ, जसको लागि एक डेड लाख मान्छे नेपाल र भारतमा पालेरै राख्या छ । तेस्रो, आन्तरिक रूपमा जातीय शक्तिलाई उचालेर द्वन्द्व सृजना गर्न चाहन्छ । र, चौथौँ कुरा कथित मानवअधिकारलगायतका कुरा निकालेर चीनमा अशान्त मच्चाउन चाहन्छ,' उनले भने ।
विगतमा पनि पेलोसीले चीनलाई उक्साउने गतिविधि गर्दै आएको नेकपा मालेका स्थायी कमिटी सदस्य तथा प्रवक्ता कुमार बेलवासेको जिकिर छ । बेलवासेले अमेरिकाले साम्राज्यवादी गतिविधि गरेको भन्दै यस्तो प्रवृत्तिले भविष्यमा नेपाल पनि समस्यामा पर्नसक्ने औँल्याए । उनले अमेरिकाको तल्लो सदनकी सभामुख पेलोसीको ताइवान भ्रमणबारे तत्काल विज्ञप्ति जारी गरेर स्पष्ट धारणा सार्वजनिक गर्न माग गरे ।
'भोलि अमेरिका र चीनकै बीचमा केही कुरा भयो भने पक्कै पनि नेपाल त्यसको सिकार बन्नुपर्छ । त्यस नाताले पनि हामीलाई सर्वाधिक चासो छ । यो क्षेत्रमा शान्ति कायम होस् । यो क्षेत्रमा अनावश्यक साम्राज्यवादी हस्तक्षेप नहोस् । त्यस निम्ति पनि एक चीन नीतिविरुद्ध भएको न्यान्सी पेलोसीको ताइवान भ्रमणको निन्दा गर्छौँ, भत्र्सना गर्छौँ र हामीले कडा विरोध जनाउँछौँ,' उनले भने ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका नेता ईन्द्र रावलले अमेरिका र चीनबीचको तनावले विश्वमा नै अशान्त हुन सक्ने बताए । चीनले ताइवानमा उच्चस्तरीय भ्रमण नगर्न आग्रह गर्दा गर्दै अमेरिकाले सभामुखलाई ताइवान पठाएर विश्व शान्तिमा खलल पुर्याएको रावलको भनाई छ । चीनमा अशान्ति भयो भने त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्नेतर्फ रावलले चिन्ता व्यक्त गरे । अमेरिकाले नेपालको भूमि प्रयोग गरेर चीनविरुद्ध गतिविधि बढाएको रावलको दाबी छ ।
'एमसीसी सम्झौताहरु भएका छन् । एसपीपी सम्झौताहरु भएका छन् । त्यसबाहेक पर्दा पछाडि पनि धेरै षडयन्त्रहरू भइरहेका छन् । नेपालको भूमि प्रयोग गरेर चीनको शान्ति खलबल्याउने, चीनलाई घेराबन्दी गर्ने जुन गतिविधि अमेरिकाले गरिरहेको छ, त्यसको पनि हामी विरोध गर्दै आएका छौँ' उनले भने ।
त्यसैगरी, नेकपा मालेका विदेश विभाग सचिव सुरेन्द्र ढकालले अमेरिकाले विश्व शान्तिलाई खलल पारिरहेको बताए । युद्धको वातावरण सृजना गर्ने हतियारको व्यापार गर्ने अमेरिकाको उद्धेश्य रहेको ढकालको दाबी छ । त्यसैका लागि चीनसँग निहुँ खोज्न सभामुखलाई ताइवानको भ्रमण गराएको उनी बताउँछन् ।
'अमेरिकाको सबैभन्दा ठूलो इन्डष्ट्रि भनेको हतियारको हो । विश्वमा शान्ति छायो भने अमेरिकाको इकोनोमी कोल्याप्स हुन्छ' उनले भने ।
नेपाल वादका अध्यक्ष किरण शर्माले ताइवान चीनको अभिन्न अंग हो भनेर विश्वले मानिसकेको अवस्थामा अमेरिकाले अनावश्यक द्वन्द्व सृजना गर्न खोजेको बताए ।
'ताइवानचाहीँ चीनको अभिन्न अंग हो भनेर विश्वले मान्यता दिइसकेको विषयवस्तुलाई विभिन्न कारणबाट गिजोलिरहेको देख्दा हामीलाई पनि दुःख लागिरहेको छ । यो भ्रमणले चाइना र अमेरिकाबीचको द्धन्द्धलाई अझ चुल्यउँदैछ । यो क्षेत्रमा पनि वारको स्थिती सृजना हुन सक्छ भन्ने हामीलाई लागिरहेको छ' उनले भने ।
त्यसैगरी, नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले अमेरिकाले चीनविरोधी गतिविधि गर्न विभिन्न तहबाट हमला गरिरहेको आरोप लगाए । अमेरिकाले विश्वकै जनता र राष्ट्र अनि तिनको स्वाधिनताको विरुद्धमा गतिविधि गरेको उनको दाबी छ ।
'लामो समयदेखि विश्वका जनताका विरुद्ध, राष्ट्रका विरुद्ध, स्वाधिनताका विरुद्ध, यस्ता गतिविधिहरु गर्दै आएको कुरा विगतदेखि नै थाहा छ र नेपाल कम्युनिष्ट पार्टीले आफ्नो जन्मकालदेखि तीनवटा शक्तिविरुद्ध आफ्नो अभियानलाई अगाडी बढाएको हो' उनले भने ।
अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’की सभामुख पेलोसीले ताइवान भ्रमण गर्ने कार्यक्रम घोषणा भएदेखि नै चीन रुष्ट थियो । चीनले भ्रमण नगर्न चेतावनी पनि दिएको थियो । तर पेलोसीले भ्रमण गरिन् । त्यसको नेपालका कम्युनिस्ट पार्टीहरूले पनि विरोध गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, १४ : ०५
लेखकबाट थप