गौशाला नगरपालिका कार्यालयका प्रमुखमाथि नै १२ करोड बेरुजु

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, १३ : ३४
गौशाला नगरपालिका कार्यालयका  प्रमुखमाथि नै १२ करोड बेरुजु

काठमाडाैँ । स्थानीय तहमा बेरुजु कहालीलाग्दो छ। महोत्तरीको गौशाला नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजङ्ग थापामाथि २०७९ अनुसार १२ करोड ४५ लाख २१ हजार बेरुजु रकम देखिएको छ। महालेखापरीक्षकको वार्षिक प्रतिवेदन अनुसार उनीमाथि सो बेरुजु देखिएको हो। 
आर्थिक वर्ष २०७६–७७ को प्रारम्भदेखि उनी सो नगरपालिकामा कार्यरत छन्। २०७६ भदौ १३ गते कार्यालयको जिम्मेवारी सम्हालेका थापामाथि बर्सेनि बेरुजु थापिँदै जाँदा आव २०७७–७८ सम्म १२ करोड बेरुजु नाघेको हो।

उनीमाथि देखाइएको बेरुजु रकममध्ये असुल गर्नुपर्ने ६ करोड ८८ लाख ४७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने दुई करोड ६० लाख ५० हजार, नियमित गर्नुपर्ने ७७ लाख ९० हजार र पेश्की दुई करोड १८ लाख ३४ हजार रहेको प्रतिवेदनमा उल्लेख छ।

कार्यकारी अधिकृत थापाले खुद तिर्नुपर्ने नै ६ करोड ८८ लाख ४७ हजार देखिएको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनले यो बेरुजुमा कार्यालयका लेखा अधिकृत सञ्जीव बराललाई पनि समेटेको छ। कार्यकारी अधिकृत थापाले गौशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद सम्हालेयता नगरपालिकामा बर्सेनि बेरुजु रकम थपिँदै गएको हो।


 

प्रतिक्रिया दिनुहोस