नेपालजस्तो उर्बर भूमिमा खर्बौँ रुपैयाँको खाद्यान्न आयात हुनु दुःखद् : सभामुख सापकोटा

सफल खबर संवाददाता

सोमबार, ०९ साउन २०७९, १५ : ०६
नेपालजस्तो उर्बर भूमिमा खर्बौँ रुपैयाँको खाद्यान्न आयात हुनु दुःखद् : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्नीप्रसाद सापकोटाले नेपालजस्तो उर्बर भूमिमा खर्बौँ रुपैयाँको खाद्यान्न आयात हुनु दुःखद् भएको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित ‘राष्ट्रमा जीपीएस समृद्ध अभियान’को शुभारम्भ गर्दै सभामुख सापकोटाले फलफूल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपालजस्तो उर्वरभूमिमा २ खर्ब ५० करोडको खाद्यवस्तु आयात हुनु दुःखद् भएको बताएका हुन्।

खरानीसमेत नेपालमा आयात हुन्छ भन्ने सुन्दा आफू अचम्मित भएको सभामुख सापकोटाको भनाइ छ। उनले भने, ‘हामी कति विडम्वनापूर्ण स्थितिमा बाचिरहेका छौँ भने नेपालजस्तो देश, जहाँ सागपात असाध्यै ठूलो मात्रामा उत्पादन गर्न सक्छौँ तर गुन्द्रुकसमेत अन्तबाट आयात गर्छौं। जनै लाउँछौँ तर नलगाउने चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै। खरानीसमेत नेपालमा आयात हुन्छ। यो सुनेर आफैं अचम्मित छु। २ खर्ब ५० करोडको हामी खाद्यवस्तुहरु आयात गर्छौं। यो भन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ?’

सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तरविरोध मडारिन थालेको बताए। उनले संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको बताए।

उनले नेपालमा पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए। सभामुख सापकोटाले जलवायु परिवर्तनका असर र प्रभावहरु एकपछि अर्को गरेर गम्भीर रुपमा देखापरिरहेको उल्लेख गर्दै यसलाई समाधान गर्ने दिशामा अघि बढ्न आवश्यक रहेको बताए।

उनले जलवायु परिवर्तनका अकल्पनीय घटना भइरहेको बताए। उनले भने, ‘हाम्रो अघि राजनीतिक उत्तारचढाव र अन्तरविरोध र जलवायु परिवर्तनका समस्या छन्। आजको सन्दर्भमा जलवायु परिवर्तनका असर र प्रभावहरु एकपछि अर्को देखापरिरहेका छन्। अकल्पनीय रुपमा घटना भइरहेका छन्। अहिले हिमपहिरो आश्चर्यजनक ढंगले आइरहेका छन्।’

सभामुख सापकोटाले जलवायु परिवर्तनको शिक्षालाई राम्रोसँग अध्ययन गर्न नसके र यसका असर, प्रभावका बारेमा विश्लेषण गर्ने र बच्नेतिर ध्यान दिन नसके ठूलो दुर्घटना हुने बताए।

प्रतिक्रिया दिनुहोस