रुख ढलेर बस र स्कुटलाई च्याप्दा भएका घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशन

सफल खबर संवाददाता

आइतबार, ०८ साउन २०७९, १४ : ४२
रुख ढलेर बस र स्कुटलाई च्याप्दा भएका घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशन

काठमाडौँ  । भक्तपुर नगरपालिका–१ सल्लाघारीमा रुख ढलेर बस र स्कुटलाई च्याप्दा भएका घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्।भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई खाणले निर्देशन दिएका हुन्।

गृहमन्त्री खाणले ढलेका रुख र च्यापिएका सवारी हटाएर सडक यथासक्दो छिटो सञ्चालनमा ल्याउन पनि निर्देशन दिएका छन्।सल्लाको रुख ढल्दा बा २ ख ३५८४ नम्बरको बसमा सवार दुई जना र बा ६१ प ३९७८ नम्बरको स्कुटरमा सवार एक जनाको मृत्यु भएको थियो। उक्त घटनामा करिब एक दर्जन व्यक्ति घाइते भएका छन्।

घाइतेहरूलाई भक्तपुरमा रहेका इमामुरा अस्पताल र भक्तपर अन्तर्राष्ट्रिय अस्पताल उपचार भइरहेको प्रजिअ शर्माले जानकारी दिइन्।मृत्यु भएका तीनमध्ये एक जनाको सनाखत भएको र दुई जनाको सनाखत हुन नसकेको प्रजिअ शर्माले जानकारी दिइन्। मृतक नितेश खर्वुजाको सनाखत भएको हो।

अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ। सल्लाको ठूलो रुख ढलेकाले हटाउन केही समय लाग्ने प्रजिअ शर्माले बताइन्। 

प्रतिक्रिया दिनुहोस