पालिकाबाटै राष्ट्रिय परिचयपत्र दिने व्यवस्था गरौँ : सांसद ढकाल

सफल खबर संवाददाता

विहीबार, ०५ साउन २०७९, १६ : ३१
पालिकाबाटै राष्ट्रिय परिचयपत्र दिने व्यवस्था गरौँ : सांसद ढकाल

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भानुभक्त ढकालले निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्दा पालिकाबाट गर्नुपर्ने माग गरेका छन् ।प्रतिनिधिसभाको शून्य समयमा उनले मतदाता नामावली संकलन गर्न प्रत्येक पालिकाका गर्नुपर्ने र सोही क्रममा राष्ट्रिय परिचयपत्रसँगै दिने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

सांसद मीना सुब्बाले निर्वाचन आयोगका धेरै सामग्री प्रयोगविहीन भएकाप्रति ध्यानाकर्षण गराइन् । आयोगले किनेका ५२१ ल्यापटप, कलर प्रिन्टर, अत्याधुनिक छपाइ मेसिन प्रयोगविहीन भएको उनको भनाइ थियो ।

सांसद महेश बस्नेतले बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा गम्भीरतापूर्वक लिन संसदमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद रामेश्वर राय यादवले मधेशमा अत्यधिक गर्मीका कारण किसानले पानी र मलको अभावमा खेती गर्न कठिन परेको र भोकमरी बढ्दै गएको हुनाले मधेसलाई सुक्खाग्रत क्षेत्र घोषणा गर्न माग गरे ।

सांसदहरु मायादेवी ज्ञवाली, मैनाकुमारी भण्डारी, मोहन बाँनिया, राजेन्द्रप्रसाद गौतम, राधाकुमारी ज्ञवालीलगायतले खेतीको समयमा सरकारले मल ल्याउन नसक्दा किसान मारमा परेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस