विदेशमा मुत्यु भएका नेपालीहरुको शव ल्याउन कठिनाइ – मन्त्री कुँवर

सफल खबर संवाददाता

विहीबार, ०५ साउन २०७९, १५ : २३
विदेशमा मुत्यु भएका नेपालीहरुको शव ल्याउन कठिनाइ  – मन्त्री कुँवर

काठमाडौँ  ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा मुत्यु भएका नेपालीहरुको शव ल्याउन कठिनाइ भइरहेको बताएका छन्।बिहीबाार गैरआवासीय नेपाली संघले आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशालामा बोल्दै मन्त्री कुँवरले यस्तो बताएका हुन्।

उनले अहिले अरबमा मुत्यु भएका नेपाली श्रमिकको शव ल्याउन नसक्नु ठूलो चुनौतीको विषय बनेको बताए। उनले अवैधानिक रुप अरब काम गर्न गएका त्यहीँ मुत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन नसकेको स्वीकार गरे।मन्त्री कुँवरले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल ल्याउने कुरामा समेत सरकारलाई चुनौती रहेको बताए।

उनले भने,‘अहिले हेड्याक्कको विषय भनेको अरबतिर केही शवहरु छन्। जो इलिगल रुपमा केही देशहरुमा गएका थिए, हाम्रै नेपाली नागरिकहरु हुन्। उनीहरुको शवलाई हामीले दाहसंस्कार गर्न सकेका छैनौँ। त्यो नेपाल सरकारको लागि चुनौतीको विषय हो।’

मन्त्री कुँवरले नेपाली श्रमिकले कमाएको रकम विदेशमा नेपाली बैंकिङ प्रणालीमा सुरक्षित गर्नसके एकमुष्ट रेमिट्यान्स नेपाल आउने बताए। उनले मलेसिया र साउदी अरबमा धेरै नेपाली श्रमिक रहेकाले त्यहाँ नेपाली बैंकको शाखा खोल्ने विषयमा नेपाली कानून र विदेशको ऐनको विषयमा छलफल गर्न आवश्यक रहेको बताए।

मन्त्री कुँवरले बैंक शाखा खोल्न मिल्ने अवस्था भए नेपाली बैंकहरुसँग समन्वय गर्न सरकार तयार रहेको बताए। उनले विदेशबाट आउने रेमिट्यान्स हुण्डी तथा अन्य चोर बाटोबाट आउने गरेकाले यस्तो कार्य नियन्त्रणका लागि सरकारले काम अगाडि बढाउने बताए।

मन्त्री कुँवरले हुण्डी तथा चोर बाटोबाट आउने रेमिट्यान्स नियन्त्रण गर्नसके रेमिट्यान्स बढ्नसक्ने बताए। उनले नेपालीहरु विदेशमा विज्ञको रुपमा काम गर्ने तर नेपालमा विश्वास नगर्ने अवस्था रहेको भन्दै अब नेपाली विज्ञहरुलाई विश्वास गरेर काम गराउन जरुरी रहेको बताए।

प्रतिक्रिया दिनुहोस