मन्त्री पदबाट हट्दा पनि हाँसेरै विदा हुन्छुः मन्त्री चौधरी

सफल खबर संवाददाता

मंगलबार, ०३ साउन २०७९, १९ : १०
मन्त्री पदबाट हट्दा पनि हाँसेरै विदा हुन्छुः मन्त्री चौधरी

काठमाडौँ  । सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने टिप्पणी गरेका छन्। मंगलबार संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्यो भन्दा अझ बढी हाँसेर जाने बताएका हुन्।

बैठकमा सांसदहरुले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदाइ हुँदा रोएकोतर्फ संकेत गर्दै मन्त्री चौधरीलाई हाँसेरै जान शुभकामना दिएका थिए। त्यसको जवाफ दिने क्रममा उनले जाने बेलामा आफू अझ बढी हाँसेर जाने बताए।

मन्त्री चौधरीले मन्त्रीको रुपमा आफू सधैँ नरहने कुरा प्रष्ट्याउँदै पदमा रहुन्जेल सांसदहरुले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गरे।

उनले भने, ‘माननीयजीहरुले शुभकामना दिने बेलामा धेरै महत्वपूर्ण सुझावहरु दिनुभएको छ। आउँदा खुसी भएर आउने, जाने बेला रुने कुरा पनि भन्नु भएको छ। मलाई क्लियर के छ भने मन्त्री हुने कुरा रेगुलर प्रोसेसको कुरा हो। म सधैंँभरी रहिरहदिनँ। त्यसै म आउँदाखेरी जसरी हाँसेर आएको छु। जाँदाखेरी यो भन्दा बढी हाँसेर जान्छु।’

त्यस अवसरमा मन्त्री चौधरीले सरकारले एक हप्ताभित्र ‘सहरी विकाससम्बन्धी नीति’ सार्वजनिक गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे। विगत १५ वर्षदेखि ल्याउने भनिएको सो नीति अन्तिम चरणमा पुगेको र त्यसलाई अब सार्वजनिक गर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस