न्यायपरिषदको बैठक सुरु

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, १४ : २४
न्यायपरिषदको बैठक सुरु

काठमाडाैँ । न्याय परिषद् बैठक सुरु भएको छ। जिल्ला न्यायाधीशहरुको आवेदनमाथि छलफल गर्नका लागि न्यायपरिषद् बैठक बोलाएको हो। गत असार २७ गते माग भएको जिल्ला न्यायाधीशहरुको आवेदनबारे छलफल गर्न र न्यायपरिषद्‍मा परेका उजुरी माथि छलफल गर्नका लागि बैठक बोलाएको न्यायपरिषद् सचिवालयले जनाएको छ। 

गएको असार २१ गते बसेको कानुन मन्त्री गोविन्द कोइराला, कायमुकायम प्रधान्यायाधीश दीपककुमार कार्की, न्यायाधीश हरिकृष्ण कार्की तथा परिषद् सदस्यहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सम्मिलित न्यायपरिषद् बैठकले उच्च र जिल्ला अदालतमा न्यायाधीश नियुक्ति सम्बन्धी मापदण्ड पारित गरेको थियो।

मापदण्ड अनुसार, न्यायाधीश नियुक्तिका लागि लामो समय कानुनको अभ्यास गरेको हुनुपर्ने पहिलो शर्त राखिएको छ। त्यस्तै कानुन व्यवसायीको हकमा सर्वोच्च अदालतदेखि जिल्ला अदालतसम्म उसले बहस गरेको, मस्सौदा गरेको रिट निवेदन, फिराददेखि अन्य निवेदन पनि पेस गर्नुपर्ने मापदण्ड रहेको छ।

कुनै विवादमा संलग्न नभएको वा अभियोग नलागेको हुनुपर्ने, सार्वजनिक रुपमा उच्च नैतिक चरित्र भएको व्यक्ति हुनुपर्ने मापदण्डमा उल्लेख छ।   

पूर्व न्यायाधीश, परिषद् सदस्यका आफन्त र राजनीतिक दलको कोटा न्यायाधीश नियुक्तिमा समावेश नगरिने मापदण्डमा फौजदारी कसुर लागेमा, नैतिक पतन देखिने कसुर लागेमा तथा अन्य केही अभियोग लागेको व्यक्तिलाई परिषद्ले कारबाही गर्न सक्ने मापदण्डमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस