काठमाडाैँ । राहदानी विभागले बहाल अवधि १ वर्ष भन्दा बढी भएका राहदानीको नवीकरण गर्न नसिकने जनाएको छ। राहदानी ऐन, २०७६ को दफा (१२) मा राहदानी बाहकको नाममा जारी भएको राहदानीको बहाल अवधि १ वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी जारी नगर्ने व्यवस्था रहेको छ। हाल केही सेवाग्राहीहरुले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को बहाल म्याद १ वर्षभन्दा बढी रहेको अवस्थामा पनि राहदानी नवीकरण गर्न आउने गरेको विभागले जनाएको छ।
विभिन्न एजेन्सीहरुले २ वा ३ वर्ष भन्दा बढी बहाल म्याद भएको राहदानी उपलब्ध गराएमा मात्र विदेश जान भिसासम्बन्धी प्रक्रिया अघि बढाउने जानकारी दिएकोले नयाँ विद्युतीय राहदानी बनाउनु पर्ने भनी विभागमा आवेदन दिन आउने र नयाँ राहदानी बनाइदिन अनुरोध गर्ने गरेको पाइएको छ।
राहदानी ऐनअनुसार राहदानीको बहाल अवधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी नवीकरण नहुने तथा नयाँ राहदानीको लागि आवेदन गर्न नसकिने भएकोले राहदानी विभाग, जिल्ला प्रशासन कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुमा आवेदन नगर्न विभागले अनुरोध गरेको हो।
यन्त्रवाचक राहदानी (एमआरपी) को बहाल अवधि १ वर्षभन्दा कम भएमा मात्र राहदानी नवीकरणको लागि विद्युतीय राहदानीमा आवेदन गर्न सकिने भिवागले जनाएको हो। ‘राहदानीको वहाल म्याद ६ महिना भन्दा बढी भएमा अन्तर्राष्ट्रिय यात्रा गर्न सकिने हुन्छ। राहदानी आफूलाई आवश्यक नहुँदाको अवस्थामा बहाल म्याद १ वर्षभन्दा कम वा बहाल म्याद समाप्त भएपनि तुरुन्त बनाउनु नपर्ने र यसरी नबनाउँदा कुनै अतिरिक्त शुल्क नलाग्ने भएकोले आफूलाई आवश्यक पर्दा मात्र राहदानी बनाउनको लागि आवेदन गर्न सकिन्छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ साउन २०७९, १३ : ५५
लेखकबाट थप