काठमाडौं । सांसद कलुदेवी विश्वकर्माले आफूले काठमाडौंमा एक महिनादेखि कोठा खोज्दा पनि नपाएको गुनासो गरेकी छिन् ।
संघीय संसद बैठकमा कोठा नपाएको गुनासो पोख्दै विश्वकर्माले भनिन्, ‘सबै भन्दा दुखलाग्दो कुरा त काठमाडौंमै छुवाछुतको भेदभाव छ । हामीले कोठा खोजेको पूरा एक महिना भयो । तर कोठा भेटेको छैन । अनि भन्छन् यो छुवाछुतको अन्त्य भयो । यो छुवाछुतको भावना कतै छैन भनेर संसदभित्रै बारबार सुनिराखेका छौं ।’
काठमाडौंमा त छुवाछुतको विकराल अवस्था रहेको छ भने दूरदराजका गाउँमा कस्तो होला भन्ने प्रश्न गर्दै उनले छुवाछुतको अन्त्य व्यावहारिक रुपमा हुन नसकेको बताइन् ।
उनले दलित भन्ने शब्दन नै हटाइनु पर्ने भन्दै आफूहरु सिल्पी भएको पनि बताइन् । उनले आफूहरुले बनाएको भाँडाकुँडा, गरगहनादेखि कपडासम्म घरभित्र पस्ने तर आफूहरु चाहिँ कसरी दलित हुने भन्दै आक्रोश पोखिन् । उनले छुवाछुत गर्नेमाथि कडाभन्दा कारबाही गर्ने पनि बताइन् ।
आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाइरहँदा उनले संसदमै छुवाछुतको उन्मुलन हुन नसकेको भन्दै कटाक्ष गरेकी हुन् ।
नेपालमा विसं २०६८ जेठ २१ गतेदेखि जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउँदै आइएको छ । तर, व्यवहारमा भने आज संसदमा विश्वकर्माले भनेभन्दा खासै फरक नभएको कतिपयले बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस