सप्तरीमा मिटरब्याजीको बिगबिगी

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, १२ : ५३
सप्तरीमा मिटरब्याजीको बिगबिगी

काठमाडौँ  । मिटर ब्याजका नाममा अपराधिक लाभ लिएका केही व्यक्ति पक्राउ परे पनि यस्ता अवैध लेनदेन र कारोबार भने रोकिएको छैन । सप्तरीमा एकपछि अर्को मिटर ब्याजीले सर्वस्व गुमाएको बिषयमा पत्रकार सम्मेलन गरेर न्याय माग्नेको लर्को लागेको छ ।

मिटरब्याजी प्रभु साहको ऋणको फन्दामा परेर सर्वस्व गुमाउन लागेको भन्द सप्तरीका एक दम्पतीले गत आइतबार न्यायका लागि गुहार मागे ।राजविराज ७ का साहुकार प्रभु साहको ऋणको फन्दामा सर्वस्व गुमाउन लागेका राजविराज–६ का ओम प्रकाश क्षेत्री र उनकी पत्नी सीता न्यायका लागी पहल गर्दिन सबैसँग आग्रह गर्ने पछिल्लो पीडित बनेका छन् ।

नगरपालिका कार्यालयको न्यायिक समितिमा सो निवेदन दर्ता भइसकेकोले छ । उनीहरूले पञ्चायतमा भएको सहमतिअनुसारको रकम तिर्न तयार भए पनि धितोबापत झुक्याएर मालपोत कार्यालयमा लिखत पास गरिएको जग्गा फिर्ता गर्न साह नमानेकाले सहयोगका लागि सबैसंग आग्रह गरे ।यसअघि मिटरब्याजीहरूकै कारण सप्तरीको छिन्नमस्ता बरही विरपुरका २५ वर्षीय संजीव मिश्र गत २ मंसिरमा राजविराजको एक होटलमा आत्महत्या गरेका थिए ।

जिल्लाकै मिटरब्याजी खडक नगरपालिकाका साहुकार रामदेव साह र कञ्चनरुप नगरपालिकाकी मिटरब्याजी साहुकार सरीता ठाकुरको मिटर ब्याजमा फसेर घरबारविहीन भएकाहरू अहिले दिनहुँजसो सडक प्रदर्शन गरिरहेका छन् ।

सप्तरीमा मिटर ब्याजमा फसेका पीडित बाहिरिने क्रम बढ्दैछ । समस्यामा परेकाहरूबाट नक्कली तमसुक बनाई चर्को असुली गरेर उठिवास गराउने कसूरमा हाल दुई जना मिटरब्याजी प्रहरी हिरासतमा रहेको र उनीहरू उपर ठगी तथा विश्वासघात कसुरमा मुद्दा अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रबक्ता माधव प्रसाद काफ्लेले बताए।

प्रहरीले प्रभु साहलाई झिकाई छलफल गरेको छ । प्रवक्ता काफ्लेले दुई दिनभित्र उक्त समस्याको समाधान गर्न साहलाई निर्देशन दिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस