महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता

रासस

शुक्रबार, ३१ असार २०७९, १२ : २५
महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता

कञ्चनपुर  । भारतको उत्तराखण्ड राज्यको तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिने भएपछि कञ्चनपुरमा महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । सिल्ट फ्लसिङको कार्यका लागि बाँधका ढोका खोलिन लागेका हुन् ।

बाँधको ढोका खोलिने भएकाले महाकाली नदीको जलस्तर बढ्न सक्ने सम्भावना भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउनका लागि आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।

भारतको एनएचपिसी लिमिटेडले आज बिहान ५ देखि साँझ ८ बजेसम्मका लागि बाँधका ढोका खोलिन लागेको जनाएको छ । जोखिमयुक्त क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउने कार्यसँगै नदीको जनस्तरबारे निगरानी राख्ने कार्यसमेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस