वर्तमान सरकारको तत्काल बहिर्गमन आवश्यक छ : एमाले सांसद श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, ३० असार २०७९, १३ : २५
वर्तमान सरकारको तत्काल बहिर्गमन आवश्यक छ : एमाले सांसद श्रेष्ठ

काठमाडौँ । नेकपा एमालेका नेता तथा राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले वर्तमान सरकारको तत्काल बहिर्गमन आवश्यक रहेको बताएका छन्। बिहीबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन्।

उनले वर्तमान गठबन्धन सरकार जति धेरै बस्यो त्यति धेरै समस्या जनताले भोग्नुपर्ने जिकिर गरे। सांसद श्रेष्ठले मुलुकको आर्थिक परिसूचकहरूले नै वर्तमान गठबन्धन सरकार कुन बाटोमा हिँडेको भन्ने थाहा पाउन सकिने बताए।

उनले भने, ‘यो परमादेशी सरकारबाट धेरै कुराको आशा गर्न सकिँदैन। यसको एउटै मात्रै विकल्प भनेको गठबन्धन सरकारको बहिर्गमन हो। जति दिन गठबन्धन सरकार नेपालमा रहन्छ, त्यति नै समस्या, त्यति नै राज्य र जनताले ठूला(ठूला समस्या व्यहोर्नुपर्ने छ। वर्तमान आर्थिक परिसूचकहरूले वर्तमान सरकार कुन बाटोमा गइरहेको छ भन्ने कुरा देखाउँछ। मैले बनाएर भनेको कुरा होइन। हरेक आर्थिक सूचकले नेपाल पनि श्रीलंकोजस्तो अवस्थामा उन्मुख भएको छ। यो अवधिमा अघिल्लो सरकार हुँदा मूल्यवृद्धि ३।६ प्रतिशत रहेको थियो। अहिले त्यो मूल्यवृद्धि ८।६ प्रतिशत भएको छ।व्यापार घाटा,विदेशी मुद्रा सञ्चिति घट्दै गएकाले यही अवस्थामा मुलुक अगाडि बढ्दा असफल राष्ट्र बन्नसक्छ।’

सांसद श्रेष्ठले गठबन्धन सरकार गठन भएको एक वर्ष बित्दासमेत प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको गुनासो गरे।

सरकारले गरेको कामको कारण अहिलेको व्यवस्था माथि नै प्रश्न चिन्ह खडा भएको छ। अघिल्लो सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने गरिएको थियो। गठबन्धको सरकार गठन भएको एक वर्षसम्म पनि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरिएको छैन’, उनले भने।

सांसद श्रेष्ठले सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको संवैधानिक परिषद् विधेयक सिद्ध गर्नको लागि राष्ट्रिय सभामा पेस गर्न लागेको आरोपसमेत लगाए।

प्रतिक्रिया दिनुहोस