उत्तर कोरियाले युक्रेनबाट छुट्टिएका जनगणतन्त्रलाई दियो मान्यता

सफल खबर संवाददाता

विहीबार, ३० असार २०७९, ११ : ३७
उत्तर कोरियाले युक्रेनबाट छुट्टिएका जनगणतन्त्रलाई दियो मान्यता

काठमाडौँ  । उत्तर कोरिया सरकारले युक्रेनबाट पृथक् भएको घोषणा गर्ने दुई जनगणतन्त्रलाई स्वतन्त्र राष्ट्रको मान्ता दिएको रोयटर्स समाचार संस्थाले खबर दिएको छ । ती जनगणतन्त्रलाई मान्यता दिने रुस र सिरियापछि उत्तर कोरिया तेस्रो राष्ट्र बनेको छ । डोनेत्स्क र लुगान्स्कलाई युक्रेन तथा बाँकी विश्वले युक्रेनकै भूभाग मान्ने गरेका छन् । रुसले युक्रेनमाथि आक्रमण गर्नुभन्दा दुई दिनअघि डोनेत्स्क र लुगान्स्कलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको घोषणा गरेको थियो । 

सन् २०१४ मा गरिएको एक विवादास्पद जनमतसंग्रहमा डोनेत्स्कका ९० प्रतिशत तथा लुगान्स्कका ९६ प्रतिशत मतदाताले स्वतन्त्रताका लागि मत दिएका थिए । युक्रेनमाथि रुसले गरेको आक्रमण जायज भएको उत्तर कोरियाले बताउँदै आएको छ । गत अप्रिल महिनामा संयुक्त राष्ट्रसंघको साधारणसभाले रुसलाई मानवअधिकार परिषदबाट हटाउने निर्णय गर्दा उत्तर कोरियाले त्यसको विपक्षमा मत दिएको थियो ।

उत्तर कोरियाको यो कदमपछि युक्रेनले उससँगको सम्बन्ध तोडेको छ ।
 

प्रतिक्रिया दिनुहोस