समृद्ध मुलुकका लागि प्राविधिक शिक्षा आवश्यक : नेता पौडेल

आइतबार, २० जेठ २०७५, २० : ५६
समृद्ध मुलुकका लागि प्राविधिक शिक्षा आवश्यक :  नेता पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध बनाउन प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल विद्यार्थी संघ प्राविधिक विद्यार्थी परिषद्ले आज यहाँ आयोजना गरेको ‘समृद्ध नेपाल निर्माणका लागि प्राविधिक शिक्षाको महत्व र भावी योजना’ विषयक एकदिने प्रशिक्षणमा उहाँले नेपाल प्रकृतिले धनी मुलुक भएको र त्यसमा प्रविधि भित्र्याउन सके मुलुक समृद्ध हुने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, “नेपालको कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासका लागि प्रविधिक शिक्षा आवश्यक छ ।”

पार्टीभित्रको कमजोरी सुधार गरेर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गर्दै उहाँले मुलुकको राजनीतिलाई सही बाटोमा अघि बढाउन काँग्रेसभित्र सुधार गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

काँग्रेस नेता दीपक खड्काले प्राविधिक शिक्षाको महत्व नेपालको सन्दर्भमा महत्वपूर्ण रहेको बताउँदै “प्राथमिक तहबाटै प्राविधिक शिक्षा लागू गर्नु जरुरी छ,” भन्नुभयो ।

प्राविधिक शिक्षालाई मुलुकभर लागू गर्न सकेमात्र विदेश जाने जनशक्ति घट्ने बताउँदै उहाँले समृद्ध नेपाल बनाउने क्रान्ति नेविसंघले शुरुआत गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रन्जित कर्णले प्राविधिक शिक्षा मुलुक विकासको आधारशीला भएको भन्दै सिकेका कुरालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

“विश्वका कतिपय देशहरु प्राविधिक शिक्षाका कारण विकास भएका छन्, नेपालमा पनि प्राविधिक शिक्षालाई महत्वपूर्ण रुपमा लिनुपर्छ,”–उहाँले भन्नुभयो ।

नेविसंघ प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष अर्जुन बमले प्राविधिक शिक्षालाई व्यवस्थित बनाउन नेविसंघले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस