न्यायिक क्षेत्रबीच समन्वय जरुरी : महान्यायाधीवक्ता खाती

सफल खबर संवाददाता

बुधबार, २९ असार २०७९, १३ : २६
न्यायिक क्षेत्रबीच समन्वय जरुरी : महान्यायाधीवक्ता खाती

काठमाडाैँ । महान्यायाधीवक्ता खम्मबहादुर खातीले न्यायिक क्षेत्रबीच समन्वय जरुरी रहेको बताएका छन्।

जिल्ला सरकारी वकिल कार्यालयको नवर्निमित भवनको आज समुद्घाटन समारोहमा उनले न्यायिक कार्यालयबीच एक अर्कामा समन्वय र सहयोग हुन जरुरी रहेको बताएका हुन्।सरकारी वकिल कार्यालय, प्रहरी र अदालतबीच समन्वय हुन नसके न्याय निरूपणमा समस्या आउने उनको भनाइ थियो।अहिले न्यायालयप्रति जनताको आस्था कमजाेर बन्दै गएकाले यसलाई जोगाउन लाग्नुपर्ने उनले बताए।

पीडितले न्याय माग्न आए इन्कार गर्न नहुने उनकाे भनाइ छ। अनुसन्धान फितलो हुँदा अभियोजनमा असर पर्ने भन्दै खातीले यसले न्यायमा समेत असर पर्ने बताए।जनशक्तिको अभावका कारण छिटोछरितो न्याय दिन नसकिएको उनको भनाइ छ। उनले अहिलेको समयमा एक न्यायधीश बराबर दुई जना सरकारी वकिल आवश्यक रहेको बताए।

कार्यक्रममा महान्यायधिवक्ताको कार्यालयका सह-न्यायाधीवक्ता सञ्जीवराज रेग्मी, उच्च अदालत हेटौँडाका सहन्यायाधीवक्ता सन्देश श्रेष्ठ, सरकारी वकिल कार्यालय चितवनका न्यायधिवक्ता महेश खत्री, चितवन जिल्ला अदालत बार एसाेसिएसनका अध्यक्ष रामकृष्ण अधिकारी लगायतले बोलेका थिए।

विसं २०७६ माघ १४ गते शिलान्यास गरिएको सो कार्यालय भवनको आज उद्घाटन गरिएको हो।भरतपुर महानगरपालिका-१० मा १० कठ्ठा जग्गामा तीन तले भवन निर्माण गरिएको हो। चार करोड ९८ लाख ७१ हजार १४१ रकम बोलपत्र कबुल गरी हनुमान कन्ट्रक्सनसँग सम्झौता भई निर्माण सम्पन्न गरिएको हो।

प्रतिक्रिया दिनुहोस