राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनको साधारणसभामा दुई जना सम्मानित

आइतबार, २० जेठ २०७५, १९ : ११
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनको साधारणसभामा दुई जना सम्मानित

चितवन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान–नेपाल, चितवन शाखाको १२ औं वार्षिक साधारसभा आज (आईतबार) नारायणगढमा सम्पन्न भएको छ । कार्यक्रमको संस्थाका केन्द्रीय संस्थापक अध्यक्ष अमर विरही गुरुङले मादल बजाएर समुद्घाटन गर्नुभयो ।

नारायणगढ लायन्सचोकस्थित लायन्स भवनमा आयोजित कार्यक्रममा सचिव कृष्ण भट्टराईले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष बसन्त लामाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष गुरुङले चितवन शाखा अन्य जिल्ला भन्दा उत्कृष्ट रहेको भन्दै संस्थालाई अझै बलियो बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै जिल्ला शाखाका संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष शान्त पियाले आफ्नो नेतृत्वमा स्थापित संस्था आज यहाँसम्म आईपुग्नु सबैको देन भएको बताउनुभयो । उहाँले १५ जनाबाट स्थापना गरिएको संस्थमा अहिले धेरै जनाको सहभागिता बढेकोमा खुशी व्यक्त अझै संस्थालाई बलियो बनाउन सबै एक हुनुपर्ने बताउनुभयो । उहाँले संस्थाले लोक दोहोरी क्षेत्रका कलाकारहरुको हकहित मात्रै गर्ने संस्था नभएको भन्दै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको बताउनभयो । उहाँले संस्थाबाट विभिन्न समयमा स्वास्थ्य शिविरि र अन्य सहयोगी कार्यहरु गर्दै आईरहेकोमा आगामि दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेत्रज्योती संघका सल्लाहकार बामदेव खनाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्ध्यक्ष आनन्द कुमार रञ्जितको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कलाकार कल्याणकारी कोष स्थापना
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान–नेपाल, चितवन शाखाले कलाकारहरुलाई आवश्यक परेको बेलामा सहयोग गर्नका लागि कलाकार कल्याणकारी कोष स्थापना गरेको छ । बुबा स्वर्गीय जितबहादुर पियाको स्मृतिमा संस्थाका संस्थापक अध्यक्ष शान्त पिया र प्रशान्त पियाले डेढ लाख रुपैयाँको कोष स्थापना गर्नुभएको हो । अहिले सो कोषमा अन्य विभिन्न कलाकारहरुले समेत सहयोग गरेका छन् । यस कोषमा रहेको रकमबाट कुनै कलाकार बिरामी, घाईते र अन्य समस्या परेको बेलामा सहयोग गरिने संस्थापक अध्यक्ष शान्त पियाले जानकारी दिनुभयो ।

दुई जनालाई सम्मान
वार्षिक साधारणसभाको अवसरमा एक जना गायिका र एक जना बाध्यबाधकलाई सम्मान गरिएको छ । संस्थाले सोममाया सिके र बाध्यबाधक राजन गुरुङलाई नगदसहित सम्मान गरेको हो । लोकदोहोरीको क्षेत्रमा उल्लेखीय योगदान पुर्‍याएको भन्दै सिके र गुरुङलाई सम्मान गरिएको हो । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि अमर विरही गुरुङले दोसल्ला र सम्मान प्रदान गर्नुभएको थियो ।

कलाकारहरुसंगै संस्थापक अध्यक्षको जन्मदिन
संस्थाको वार्षिक साधारणसभासंगै संस्थाका संस्थापक अध्यक्ष शान्त पियाको जन्म दिन मनाईएको छ । सोही कार्यक्रममा संस्थापक अध्यक्ष पिया र प्रमुख अतिथि अमर विरही गुरुङले केक काट्नु भएको थियो । संस्थपक अध्यक्ष पियालाई सबै कलाकारहरुले खादा लगाई जन्म दिनको शुभकामना व्यक्त गरेका थिए । संस्थापक अध्यक्ष पियाको जन्म दिनकै बेला जिल्ला शाखा गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस