रुपन्देही । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बुद्धभूमि नेपाललाई युद्धबाट अक्षुण्ण राख्नुपर्ने बताएका छन् । विश्वमा युद्धको कालो बादल मडारिएको जनाउँदै उनले एसियामा पनि त्यसको लक्षण देखापरेकाले सचेत रहनुपर्ने बताए । “बुद्धको शान्ति भूमिलाई द्वन्द्वबाट टाढा राख्नुपर्छ”, समाजवादी प्रेस सङ्गठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “राष्ट्रिय हितका विषयमा हामी एकताबद्ध हुनुपर्छ ।”
राष्ट्रिय हित र सुरक्षालाई केन्द्रविन्दुमा राखेर छिमेकी र अन्य मुलुकसँगको सम्बध विस्तार गर्दै जानुपर्ने उनले बताए । नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा रहेकाले यसैमा अडिग रहेर अन्तर्राष्ट्रिय सन्धि–सम्झौता गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष नेपालले पाँचदलीय गठबन्धन पनि यही नीतिका पक्षमा रहेर अस्थिरताबाट देशलाई जोगाउने काम गरेको बताए ।
पाँचदलीय गठबन्धनबाट सरकारका विभिन्न पदमा रहेका मन्त्रीतर्फ इङ्गित गर्दै उनले देश र जनताप्रति सेवाभाव र समर्पणभाव राख्नुपर्ने बताए । “देखाउने दाँत एउटा र खाने अर्को नहोस् । भित्र बाहिर एउटै होस् । जनताले खोजेको त्यही हो”, अध्यक्ष नेपालले भने ।
सङ्घ र प्रदेशको निर्वाचनमा पनि पाँचदलीय गठबन्धनबीच सहकार्य रहने बताउँदै उनले अहिलेको अवस्थामा यो आवश्यक रहेको उल्लेख गरे । आगामी निर्वाचनको मिति घोषणा भएलगत्तै सही नीति र दृष्टिकोण बोकेर पार्टी जनतामा जाने तयारी गरेको उनले बताए ।
पत्रकार सम्मेलनमा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै उनले आगामी निर्वाचनमा नेकपा (एमाले)सँगको सहकार्य सम्भव नभएको प्रष्ट पारे । “एमालेसँग गठबन्धन गर्नका लागि ढोका बन्द छ, ढोका बन्द भएपछि कुनै सम्भावना रहने कुरा भएन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । गलत प्रवृत्तिले गर्दा हानी–नोक्सानी के–के भयो सबैले मम गरौँ”, उनले भने
अध्यक्ष नेपालले गत स्थानीय तहको निर्वाचनमा मतपत्रको व्यवस्था, मतदाता शिक्षा, घरदैलो र सबै स्थानीय तहमा उम्मेदवारी दिन नसक्दा नौ लाख २७ हजार मतमात्रै प्राप्त गरेको जनाउँदै उनले अब सङ्घीय निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको बताए । कांग्रेसमा भएको चरम गुटबन्दीले स्थानीय तह निर्वाचनमा उम्मेदवारको टुङ्गो लगाउन समस्या भए पनि समाजवादीमा सहज तरिकाले दुईतिहाइ स्थानमा एक्लै उम्मेदवारी दिँदा पनि सानदार जित हासिल गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ असार २०७९, १९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी बनाउने आँट छ, मुद्दाकै कारण बिदा गरे स्वीकार्छु: माधव नेपाल
एमालेमा अन्तरसंघर्ष चर्किएको छ, भविष्य के हुन्छ यसै भन्न सकिँदैन: माधव नेपाल
विचार मिल्नेसँग एकता गरेर जान्छौं: माधव नेपाल
माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको सचिवालय बैठकको निष्कर्ष
'कठघरा' मा एकजना पूर्वप्रधानमन्त्रीको दिनभरको बैचनी
३५ लाख धरौटी बुझाएर छुटे पूर्वप्रधानमन्त्री माधव नेपाल