स्थानीय तहबाट सञ्चालित अस्पतालले जनताको सेवा गरेका छन् : स्वास्थ्य मन्त्री खापुङ

रासस

बुधबार, २२ असार २०७९, २१ : ४५
स्थानीय तहबाट सञ्चालित अस्पतालले जनताको सेवा गरेका छन् : स्वास्थ्य मन्त्री खापुङ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्थानीय तहबाट सञ्चालित अस्पतालले जनताको व्यापक सेवा गर्ने गरेको बताएका छन् । स्थानीय अस्पताल सञ्चालनका बारेमा आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँगको छलफलमा उनले स्थानीय तहको अस्पतालको स्तरवृद्धिका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको बताए ।

मन्त्री खापुङले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको स्थलगत अवलोकन गर्न आउने बताउँदै ख्वप अस्पतालले प्रदान गरेको सेवाका बारेमा जानकारी लिए । नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १०० शय्या क्षमताको ख्वप अस्पतालबाट प्रवाहित सेवा तथा सुविधाबारे मन्त्री खापुङलाई जानकारी गराउँदै अस्पतालले घरदैलो नर्सिङ सेवा सञ्चालनका साथै दैनिक ७०० भन्दा बढी बिरामीलाई स्वास्थ्योपचार प्रदान गर्दै आइरहेको जानकारी गराए । ख्वप अस्पतालको लागि आवश्यक एमआरआई, सिटीस्क्यान मेसिन, ओटी लाइट, एम्बुलेन्स, ओटी टेबल, इन्डोस्कोपी, कोलोनोस्कोपीलगायत स्वास्थ्य उपकरण तथा भौतिक पूर्वाधार निर्माणको लागि आवश्यक सहजीकरण एवं सहयोग गरिदिन उनले मन्त्री खापुङलाई आग्रह गरे । 
    
त्यसैगरी भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलासँग बीमा सेवाबापतको रकम भुक्तानी गर्न माग गरे । ख्वप अस्पतालबाट बीमामा आबद्ध सेवाग्राहीलाई प्रदान गर्दै आएको सेवाबापत हालसम्म स्वास्थ्य बीमा बोर्डबाट छ करोड ६४ लाख ३८ हजार ४५२ रकम आउन बाँकी रहेकाले उक्त रकम निकासाको लागि आग्रह गरे । स्वास्थ्य बीमा कार्यक्रमले सरकारी अस्पताललाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै उनले व्यापक जनता यस सेवाबाट लाभान्वित भइरहेकोमा समयमै बीमा रकम निकासा गर्न बोर्ड क्रियाशील हुनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस