अष्ट्रेलियाको सिड्नीमा बाढी, हजारौँ विस्थापित

एजेन्सी

बुधबार, २२ असार २०७९, १२ : ३०
अष्ट्रेलियाको सिड्नीमा बाढी, हजारौँ विस्थापित

काठमाडौँ । अत्यधिक वर्षापछि आएको बाढीका कारण अष्ट्रेलियाको सिड्नीका हजारौं मानिस विस्थापित भएका छन् । उनीहरू अहिले बसिरहेको ठाँउ छोडेर अन्यत्र जाँदै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी दिएका छन् ।

अत्यधिक वर्षा र त्यसपछिको बाढीले यस क्षेत्रको जनजीवन अत्यन्त असुरक्षित र चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ । स्थानीय सरकारी अधिकारीले पनि सुरक्षित स्थानतर्फ जान र बाढी पहिरोबाट जोगिन सबैलाई अनुरोध गरेका छन् । झण्डै ५० हजार मानिस विस्थापित हुनुपर्ने उनीहरूले बताएका छन् ।

पछिल्लो चार दिनमा झण्डै आठ महिनामा हुने जति वर्षा भएको छ । बाढीका कारण सडक अवरुद्ध भएको छ भने केही घरहरू पानीमा डुबेका छन् । आपूर्ति बन्द हुँदा हजारौँ मानिसले बिजुली प्रयोग गर्न पाएका छैनन् । बाढीले न्यू साउथ वेल्सका धेरै ठाउँ बढी प्रभावित भएका छन् । ग्रेटर सिड्नी भनिने तीन ठूला सहर भएको भू-भागमा अहिलेको आपतकालीन अवस्थामा १०० वटाभन्दा बढी स्थानान्तरणको निर्देशन जारी गरिएको छ ।

जोखिम भएका ठाउँ छाड्न स्थानीय बासिन्दालाई गरिएको आग्रहलाई बेवास्ता नगर्न पनि अधिकारीहरूले ध्यानाकर्षण गराएका छन् । जोखिम भएका स्थानका व्यक्तिलाई अन्यत्र जानका लागि स्वयंसेवक तथा सुरक्षाकर्मीले पनि सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।