हराएका २० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, १६ : ५२
हराएका २० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच विभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ३ वटा स्कुटर सम्बन्धित धनीहरुलाई कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले हस्तान्तरण गरेका हुन्।

विभिन्न मिति र स्थानबाट हराएका भनी परेको हुलिया निवेदन पश्चात परिचालित ट्राफिक प्रहरी टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको प्र.ना.म.नि जोशीले बताए।

उनले भने, 'हाम्रो टोलीले उपत्यका आसपासको ईलाकामा बिशेष सूचना संकलन गरी अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्छन्, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेका छौँ। अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेका छौँ।'

थप प्रष्ट पार्दै डिआईजीपी जोशीले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारी धनी पनि विशेष चनाखो र सजक हुनुपर्ने बताए।उनले सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरूको समेत प्रयोग गर्न अनुरोधसमेत गरेका छन्।

यस आ.व. ०७८/७९ मा ४६३ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने ४४ जना चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाएको समेत ट्राफिक कार्यालयले जनाएको छ।

मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सक्रिय रहेको र नियन्त्रणका लागि विशेष अभियानलाई प्रभावकारी बनाउन पीडित सहायता ईकाइबाट सादा पोसाकमा थप ट्राफिक प्रहरी समेत ट्राफिक प्रहरी कार्यालयले परिचालन गरेको छ।

सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाईन मार्फत समेत निवेदन दिन ट्राफिक कार्यालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस