नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा लागेको ताला दुई महिनापछि खुल्यो

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, १६ : २०
नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा लागेको ताला दुई महिनापछि खुल्यो

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा लागेको ताला दुई महिनापछि खुलेको छ। नेपाल विद्यार्थी संघले उठाएका १४ बुँदे मागमध्ये आधा बढी माग सम्बोधन भएपछि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लागेको ताला दुई महिनापछि खुलेको हो।

सहमतिअनुसार कार्यालयको मुलगेट र प्रशासन शाखालगायतका ठाउँका ताला खोले पनि उपकुलपति र रजिष्ट्रारलगायतका कार्यकक्षको ताला भने यथावत रहेको नेपाल विद्यार्थी संघले जनाएको छ।विद्यार्थीहरुको आउँदै गरेको परीक्षा र कार्यालयको दैनिक प्रशासकीय कार्य सञ्चालनलाई अवरोध नगर्ने उद्देश्यअनुसार दुई महिनादेखि गरिएको तालाबन्दी खोलेको नेपाल विद्यार्थी संघ नेपाल संस्कृत विश्वविद्यालय संघर्ष समितिका संयोजक चोलेन्द्र रिजालले जानकारी दिए।

नेपाल विद्यार्थी संघले राखेका मागहरु विश्वविद्यालयले तीन महिनाभित्र दीक्षान्त समारोहको आयोजना गर्नुपर्ने, विद्यापीठमा विहान एवं साँझ कक्षाको व्यवस्था गर्नुपर्ने, छात्राबाससँगै लाइब्रेरीलाई व्यवस्थित गर्दै इ–लाइब्रेरीका रुपमा व्यवस्थित गर्नुपर्ने, विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरुको व्यवस्थापन गर्नुपर्ने, विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तोक्नुपर्नेलगायतका मागहरु सम्बोधन भएपछि कार्यालयको मूलगेटमा लगाएको ताला खोलिएको बताए।

उनका अनुसार विद्यार्थीहरुको छात्रवृत्ति २०० प्रतिशतले वृद्धि गर्नुपर्ने, अवैज्ञानिक तवरले गरिएको उपप्राध्यापकको विज्ञापन खारेज गरी वैज्ञानिक अध्ययन गरी सर्वपक्षीय माग सम्बोधन गरी पुनः विज्ञापन हुनुपर्ने, सेवा आयोगको पुनर्गठनसहित विश्वविद्यालयमा हुने आर्थिक अनियमितता छानबिनका लागि समिति गठन गर्नुपर्ने र नेसंविघको नर्सरीका रुपमा गुरुकुलहरुमा प्रक्रियावद्ध ढंगबाट स्थायी प्राध्यापकको तत्काल व्यवस्था गर्नुपर्ने मागमा सहमति हुन नसक्दा संघर्ष समितिले पदाधिकारीहरुको कार्यकक्षमा भने तालाबन्दीलाई गरिएको बताए।

प्रतिक्रिया दिनुहोस