कालोपत्र गरेको दुई महिनामै भत्कियो सडक

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, १४ : ५४
कालोपत्र गरेको दुई महिनामै भत्कियो सडक

काठमाडौं । भत्केर वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये हुँदै आएको  सडक निर्माणका लागि ठेक्का भएको सात वर्षपछि कालोपत्र भयो । कालोपत्र भएको दुई महिनापछि कतै सडक आफैँ भत्किन थाल्यो भने कतै भने पाइप, ढल एवं नेपाल टेलिकमको तार भूमिगत गर्न खन्न थाल्दा भत्कियो । यस्तो दृश्य अहिले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकको गोकर्ण–नयाँपाटी खण्डमा देखिन्छ ।

कालोपत्र भएको दुई महिनामै कतै भत्कने र कतै भत्काइएको देख्दा नेपालको विकासको दुर्दशा हेरेर बसिरहन परेको स्थानीय ईश्वर श्रेष्ठले बताए । सडक ठेक्का भएको सात वर्षसम्म खानेपानीको पाइप नबिच्छ्याउने र  तार भूमिगत नगर्ने तर  सडक कालोपत्र हुनेबित्तिकै यी काम थालिएको  छ । कालोपत्र भएको सडक दुई महिनामै भत्कँदा फेरि खाल्डाखुल्डी हुने, पानी जम्ने र धुलो उड्ने समस्या दोहोरिएको छ । यो समस्याबाट एक दशकसम्म दुःख पाएका स्थानीयवासी र यात्रु फेरि समस्यामा पर्ने भएका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष जयराम महतले भत्काइएको सडक निर्माण व्यवसायीले बनाउने प्रतिबद्धता जनाएको बताए ।

नेपाल टेलिकमले सडक कालोपत्र भएपछि खन्न थालेको, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र नेपाल विद्युत् प्राधिकरण पनि सडक बन्नुअघि काम गर्न नआउने र बनिसक्नेबित्तिकै खन्न आउँदा सडकमा फेरि खाल्डाखुल्डी हुने, पानी जम्ने र धुलो उड्ने समस्या दोहोरिएको उनको गुनासो छ । गोकर्णेश्वर महादेव मन्दिरमाथिको भागमा भने धाराबाट सडकमा जाने पानीका कारण सडक बिग्रिएको जनाइएको छ । दुई महिनामै सडक भत्किएको सम्बन्धमा प्रतिक्रिया लिन निर्माण व्यवसायी सन्तकुमार श्रेष्ठसँग फोन सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन्।

प्रतिक्रिया दिनुहोस