पत्रकार पराजुलीको ‘मोम्चो’ कथासंग्रहको दोस्रो संस्करण बजारमा

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, ११ : ५८
पत्रकार पराजुलीको ‘मोम्चो’ कथासंग्रहको दोस्रो संस्करण बजारमा

चितवन । पत्रकार तथा कथाकार  वसन्त पराजुलीको मोम्चो कथासंग्रहको दोस्रो संस्करण प्रकाशित भएको छ । गत वर्षको मंसिरमा पहिलो संस्करण प्रकाशन भएको सात महिना मै  दोस्रो संस्करण बजारमा आएको कृति प्रकाशन संस्था भूँडि पुराण प्रकाशन प्रालिका प्रवन्ध निर्देशक केशव पराजुलीले जानकारी दिए । 

नेपाली साहित्यका पाठकहरु माझ मोम्चो कथासंग्रहको माग वढ्दो भएकाले यसलाई दोस्रो संस्करण छाप्नुपर्ने अवस्था आएको प्रवन्ध निर्देशक पराजुलीले बताए । समालोचक प्रा.डा लक्ष्मण प्रसाद गौतमले मोम्चो कथा संग्रह छोटो समयमै दोस्रो संस्करण आउनुमा अहिले साहित्यमा पाठक छैनन् र पुस्तक बिक्दैनन् भन्नेहरूका लागि एउटा मीठो जवाफ भएको प्रतिक्रिया दिए । “चेपाङ समुदायको जीवनशैली र संवेदनाका साथै अन्य विविध यथार्थलाई विषयवस्तु बनाइएको यो कथाकृति आजका नेपाली कथाका प्रवृत्तिलाई  प्रतिनिधित्व गर्ने कृतिसमेत हो”, उनले भने । 

वरिष्ठ साहित्यकार तथा गोरखापत्रका पूर्व सम्पादक श्रीओम श्रेष्ठ रोदनले पनि मोम्चो कथा संग्रह पाठकहरुको रुचिको कृति भएको बताए । “कथामा नयाँ विषय वस्तु आयो भने र नयाँ शैली प्रयोग भयो भने पाठकले कृति पठ्छन् भन्ने कुरा मोम्चोको दोस्रो प्रकाशनले पुष्टि गरेको छ”, उनले भने । 

मोम्चो विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र त्यसपछि महिलाले भोग्नु परेका समस्यामा केन्द्रित कथा हो भने अन्य प्राय कथाले महिला हिँसा, हाडनाता करणी लगाएतका विषयहरुमा उठान गरेको छ ।  मोम्चो कथाकार पराजुलीको दोस्रो कथा संग्रह हो । पराजुली दुई वर्षअघि मात्रै ‘कुमाता’ कथासङ्ग्रहका माध्यमबाट नेपाली आख्यान विद्या मार्फत साहित्यमा प्रवेश गरेका हुन् ।

नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसतात्मक समाजको परिणाम स्वरुप सिर्जित नारी समस्यासग सम्बन्धित नारीवादी विषय उठान गरिएको  कथासङ्ग्रह हो मोम्चो । कृतिमा समसामाहिक विषय विस्तुमा केन्द्रित ११ वटा कथाहरु समेटिएका छन् । 


 

प्रतिक्रिया दिनुहोस