रकम हिनामिना गरेको आरोपमा सहकारीका कर्मचारी पक्राउ

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, ०९ : ०७
रकम हिनामिना गरेको आरोपमा सहकारीका कर्मचारी पक्राउ

काठमाडौं । रकम हिनामिना गरेको आरोपमा मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाकाका कर्मचारी विवेक खवास पक्राउ परेका छन् ।  ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको आरोप मा उनी पक्राउ परेका हुन् । 

खवासले ३१ लाख रूपैयाँ हिनामिना गरेको स्वीकार गरे पनि सहकारीको आन्तरिक छानबिन समितिले भने ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ । सहकारीको सेवा केन्द्र गोठगाउँमा कार्यरत कर्मचारी खवासलाई सञ्चालक समितिले बर्खास्त गरेर सञ्चालक समिति सचिव यमप्रसाद सिग्देलको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।

समिति सदस्यमा लेखा समिति संयोजक युवराज आचार्य र लेखा प्रमुख विराटचन्द्र पोख्रेल छन् । प्रहरीसमक्ष नै उनले ३१ लाख रकम हिनामिना गरेको स्वीकार गरेपछि भदौ १० गतेसम्ममा हिनामिनाको रकम तिर्ने सहमति भएको थियो । हिनामिनाको रकम बढ्दै गएपछि आरोपी भाग्ने डरले सहकारी संचालक समितिले किटानि जाहेरी दिएको थियो । उनले १० लाख रुपैयाँ भने सहकारीलाई बुझाएका छन । 

पक्राउ परेका खवास विरुद्ध अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख एसपि शान्तिराज कोइरालाले बताए ।  विगत ५–६ महिनादेखि बचतकर्ताको रकम आफैं नक्कली हस्ताक्षर गरेर लाखौं रकम हिनामिना गरेको सञ्चालक समितिको आरोप छ । सफ्टवेयरको प्रयोगबाट कारोबार हुने गरे पनि उनले सफ्टवेयरको प्रयोग नै नगरी नक्कली कागजात बनाई रकम लाने गरेको उनीमाथि आरोप छ ।