बागमती प्रदेशमा मुख्यमन्त्री फेर्न कसरत शुरु,  प्रदेशसभा सदस्यहरूको हस्ताक्षर संकलन

पत्रपत्रिकाबाट

शुक्रबार, १७ असार २०७९, ०७ : ५६
बागमती प्रदेशमा मुख्यमन्त्री फेर्न कसरत शुरु,  प्रदेशसभा सदस्यहरूको हस्ताक्षर संकलन

हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दबाब बढाएको छ। प्रदेशसभाबाट बिहीबार बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेस र माओवादीले आफ्ना प्रदेशसभा सदस्यहरूको हस्ताक्षर संकलन गरेको हो।

नेकपा एकीकृत समाजवादीले आलोपालो मुख्यमन्त्री चलाउने सहमति कार्यान्वयन गर्न अटेर गरेको भन्दै कांग्रेस र माओवादीले दबाब दिन हस्ताक्षर संकलन अभियान थालेको जनाएको छ। ‘मुख्यमन्त्री परिवर्तन हैन, सहमति कार्यान्वयनको अभियान हो,’ कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले भने, ‘सरकारमा रहेको तीन दलबीच भएको सहमति कार्यान्वयनको चरणमा अघि बढेको छ। त्यसको लागि हस्ताक्षर संकलन हो।’ कांग्रेस र माओवादीले मुख्यमन्त्री पाण्डेले सहजै पद नछाडे अविश्वासको प्रस्ताव दर्ता गराउने उद्देश्यले हस्ताक्षर संकलन गरेको हो।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रीय सहमति भएमात्र आफूले मुख्यमन्त्री छाड्ने स्पष्ट अडान राखेका छन्। उनले बागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरूको निरुपण पाँच दलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुने बताएका छन्।

‘बागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरूको निरुपण पाँच दलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुनेछ। गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुनेछ,’ उनले बिहीबार अपराह्न ट्वीट गरेका छन्। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।