एकीकृत समाजवादीको पुरानो टिम बाहिरियो, नयाँ भित्रियो

पत्रपत्रिकाबाट

सोमबार, १३ असार २०७९, ०७ : ३०
एकीकृत समाजवादीको पुरानो टिम बाहिरियो, नयाँ भित्रियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएपछि नयाँ मन्त्री नियुक्त भएका छन्। पार्टीभित्रको दबाबलाई थेग्न नसकेपछि पुराना मन्त्रीहरूले राजीनामा दिएलगत्तै नयाँ नियुक्त भएका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पार्टीको निर्णय कार्यान्वयनमा सहजीकरण गर्ने भन्दै पदबाट राजीनामा दिएका थिए। मन्त्री पदमा रहिरहन गरिएको अन्तिम प्रयास निरर्थक हुँदा र पार्टीभित्रको दबाब थेग्न नसक्दा आले र झाँक्रीले राजीनामा दिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एसका तर्फबाट सिफारिस गरिएका पाँचजनालाई मन्त्री नियुक्त गरेका हुन्।

जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या र मेटमणि चौधरीलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले भने राजीनामा नदिएको अवस्थामा पनि उनीहरूका स्थानमा नयाँ मन्त्री नियुक्त गरिए। नयाँ मन्त्री नियुक्त भएपछि आफूहरू स्वतः पदमुक्त हुने बताउँदै उनीहरूले राजीनामा दिएका थिएनन्।

नेकपा एसको पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकमा सरकारमा सहभागी चार मन्त्रीले पार्टीको निर्णय नमानेको विषयमा चर्को आलोचना भएको थियो। पार्टीका शीर्ष नेताहरूले समेत ती मन्त्रीहरूले पार्टी निर्णय लत्याएको भन्दै आलोचना गरेका थिए।

पार्टीले श्रेष्ठलाई संस्कृति, कुँवरलाई श्रम, खापुङलाई स्वास्थ्य, चौधरीलाई सहरी विकास र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा सिफारिस गरेको थियो। उक्त सिफारिस २२ दिनमा बल्ल कार्यान्वयन भएको छ। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस